शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्गमा जीर्ण सूचना बोर्डबीच यात्रा : ‘देखिंदैन’ सावधानी

शनिवार , श्रावण १७, २०८२

सिन्धुली,१७ साउन — बीपी राजमार्ग यात्रा गर्नेहरूलाई सडकको मोड र चिप्लोपनभन्दा बढी चुनौती हुन्छ,‘कहाँ सावधानी अपनाउने ?’ भन्ने थाहा नपाउनु । किनभने घुम्ती, उकालो–ओरालो र पुलका ठाउँमा हुने सूचना बोर्डहरूमध्ये धेरैजसो हराइसकेका छन् वा खिया लागेर अपठ्यारा भएका छन् ।

सूचना बोर्ड, जुन चालकको आँखाको साथी हो, आज जताततै सूचना बोर्ड बिस्कुन झैँ बनेको छ । बर्दिबासदेखि खुर्कोट हुँदै धुलीखेलसम्मका दर्जनौं स्थानमा सावधानी सन्देशसहितका बोर्ड हराएका छन् । कतिपय त तोडिएका छन्, कतै पोल त छ तर सन्देश छैन ।

सडक सुरक्षामा सूचना बोर्डको भूमिका ’सडकको संकेत भाषा’ जस्तै हो । तर चालकहरू अब अनुमानको भरमा हिँड्न बाध्य छन् । “एकचोटि बर्दिबास नजिकै मोडमा बोर्ड नदेखिएर ब्रेक अचानक हान्नुपर्‍यो, भयंकर जोखिम भयो, ”उदयपुरका ट्रक चालक रामकृष्ण महतोले गुनासो पोख्नुभयो ।

उता ट्राफिक प्रहरीहरू पनि चिन्तित छन् । सिन्धुलीका ट्राफिक प्रमुख मोहमद कलिम अन्जुमका अनुसार, सूचना बोर्ड नहुनु अप्रत्यक्ष रूपमा दुर्घटनाको कारण बन्छ । नियमित निरीक्षण, मर्मत र प्रतिस्थापनको अभावले सडक सुरक्षित रहँदैन ।

झापाका एक यात्रुले भने, “जहाँ मोडहरू छन्, त्यहाँ बोर्डहरू चाहिन्छ । तर सरकारको नजर देखिदैन । हामीलाई त हर मोडमा डर लाग्छ ।” सूचना बोर्डको अभावले विशेषगरी राति वा नयाँ चालकहरूलाई मार्ग नचिन्ने समस्यामा पार्छ ।

बीपी राजमार्गको मर्मत जिम्मा लिएको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेती भन्नुहुन्छ, “चालू आर्थिक वर्षमा सूचना बोर्डहरूको मर्मत र जेब्राक्रसिङ निर्माण गरिने योजना छ ।“ तर यात्रुहरू भन्छन,“ योजना कति वर्ष लम्बिन्छ ?”

सूचना बोर्ड केवल सूचना होइन, सडकमा देखिने सुरक्षा कवच हो । जब चालकले ‘सावधानी’ लेखिएको बोर्ड देख्छ, तब उनी गम्भीर हुन्छन् । तर अहिले त्यो गम्भीरता हराउँदै गएको छ, किनभने बोर्ड नै छैन । अब प्रश्न उठ्छ,सूचना बोर्डका लागि पनि दुर्घटनाको पर्खाइ गर्ने ? वा राज्यले चालु बोर्डहरू जोगाउने र नयाँ बनाउने ?

बीपी राजमार्ग, जसले देशका दुई भू–भागलाई जोड्छ, अब सरकारको ध्यान पनि जोडिनु आवश्यक छ,“बोर्डको अक्षर जोडेर यात्रुहरूको ज्यान जोगाउन ।”

प्रतिक्रिया