सिन्धुली, १७ साउन – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड शनिबार बिहानैदेखि अवरुद्ध सडकमा यातायात सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरो र लेदो हटाई लोकमार्ग यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार लोकमार्गको गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको थियो । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको थियो ।
सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका थिए् । ओखलढुंगा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन अहिले आफ्नो गन्तब्य तर्फ लागेको प्रबक्ता सुबेदीले बताउनुभयो ।