शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

शुक्रवार , श्रावण १६, २०८२

मकवानपुर,१६ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुग्नुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिनुभएपछि उहाँले पदबाट राजीनामा दिने तयारी थाल्नुभएको हो ।

सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गर्नुभएको थियो । भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिनुभएको थियो । “पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमा नअल्झिऔं,” सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए ।

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताउनुभएको छ । उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोध्नुभएको थियो । जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिनुभएको थियो ।

लामा काठमाडौँमा आफूनिकट सांसदहरूसँग बैठक र परामर्शमा व्यस्त हुनुहुन्छ । उहाँ बागमतीमा काँग्रेस नेतृत्वको सरकारलाई टिकाइ राख्न आफूपछि पनि आफूनिकटका सांसदहरूले महत्वपूर्ण मन्त्रालय पाउने सुनिश्चितता खोजिरहनुभएको छ ।

उहाँको मागमा आर्थिक मामिला लगायतका प्रभावशाली मन्त्रालय आफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडानमा हुनुहुन्छ । अविश्वास प्रस्तावमा साथ दिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाका कारण सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।

यदि आफूनिकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्री लामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेको उहाँको पक्षधर एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया