सिन्धुली – सिन्धुलीमा पर्याप्त मात्रामा रासायनिक मल आयात भए पनि किसानहरूले अझै मल नपाएको गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी सिन्धुलीकोे तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८१÷८२ मा जिल्लामा ४ हजार ६ सय ९९ मेट्रिक टन मल आयात भएको छ भने १ सय ९४.४० मेट्रिक टन मल स्टकमा रहेको छ ।
जिल्लामा ६२ हजार ७ सय १३ हेक्टर खेतियोग्य जमिन छ, जसमध्ये ८० प्रतिशतमा खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसका लागि अनुमानित यूरिया ३ हजार १ सय १४ मेट्रिक टन, डिएपी १ हजार ५८ मेट्रिक टन, र पोटास ८ सय १२ मेट्रिक टन आवश्यक पर्छ ।
कृषि सामग्री कम्पनी सिन्धुलीका प्रमुख छविलाल शर्माका अनुसार, मलको वितरण सहकारीमार्फत हुने भएकाले स्थानीय सरकारको सिफारिस र सहकारीको समन्वय अभावले वितरणमा ढिलाइ भइरहेको छ । उहाँले भन्नुभयो, “मल पर्याप्त भए पनि किसानसम्म समयमै पुग्न सकेको छैन । सहकारीको निष्क्रियता र वितरण केन्द्रको पहुँच समस्या हो ।”
प्रमुख शर्माका अनुसार कमलामाई नगरपालिकामा यूरिया मल २ सय ९२.१५ मेट्रिक टन, डिएपी मल १ सय ६३.९० मेट्रिक टन, पोटास मल १०.५० मेट्रिक टन र दुधौली नगरपालिकामा यूरिया मल २ सय १.३० मेट्रिक टन, डिएपी मल २ सय २४.३० मेट्रिक टन र पोटास मल ६.०५० मेट्रिक टन वितरण गरीएको छ ।
त्यस्तै तीनपाटन गाउँपालिकामा यूरिया मल १ सय ४०.४० मेट्रिक टन, डिएपी मल २ सय १.६० मेट्रिक टन, पोटास मल ७ सय मेट्रिक टन, सुनकोशी गाउँपालिकामा युरिया मल १ सय २८.१० मेट्रिक टन, डिएपी मल १ सय ८.१० मेट्रिक टन, पोटास मल १२.७५ मेट्रिक टन मल वितरण गरीएको हो ।
घ्याङलेख गाउँपालिकामा यूरिया मल ३.२५ मेट्रिक टन, डिएपी मल ७.९५ मेट्रिक टन, पोटास मल ०.२० मेट्रिक टन, गोलन्जोर गाउँपालिकामा यूरिया मल १ सय ७२.६० मेट्रिक टन, डिएपी मल ३९.२५ मेट्रिक टन, पोटास मल २.८५ मेट्रिक टन, मरिण गाउँपालिकामा यूरिया मल २ सय ६६.०५ मेट्रिक टन डिएपी मल ६९.० मेट्रिक टन पोटास मल ३.७५ मेट्रिक टन वितरण गरीएको शर्माले बताउनुभयो ।
यस्तै फिक्कल गाउँपालिकामा यूरिया मल ८७ मेट्रिक टन, डिएपी मल १८.९५ मेट्रिक टन पोटास मल १ मेट्रिक टन र हरिहरपुरगढी गाउँपालिकामा यूरिया मल १ सय ६०.२०, डिएपी मल २२.५० मेट्रिक टन पोटास मल १.६५ मेट्रिक टन वितरण गरीएको कार्यालयले जानकारी दिएको छ ।
असारमा धान रोप्ने मुख्य सिजन पर्दा, विशेषगरी जेष्ठको तेस्रो सातादेखि मलको माग अत्यधिक हुने गर्दछ । कमलामाई, दुधौली, तीनपाटन, फिक्कल, घ्याङलेख, सुनकोशीजस्ता पालिकाहरूमा यूरियाको अभाव तीव्र हुने गरेको प्रमुख शर्माले बताउनुभयो ।
सरकारबाट पर्याप्त मल आपूर्ति भए पनि किसानले मल पाउने अवस्था सिर्जना हुन सकेको छैन । वितरण संयन्त्रको कमजोरी, सहकारीको निष्क्रियता र पहुँचको समस्याले गर्दा खाली हात खेततर्फ हिँड्नु परेको किसानहरूको गुनासो छ ।