सिन्धुली – सिन्धुलीमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । लागुऔषधको प्रयोगले अन्य अपारधिक गतिविधिसमेत बढ्न थालेका छन् । यसको रोकथाम र न्युनिकरणका लागि प्रहरीले थुप्रै प्रयास गरे पनि भारतसँग नजिकै जोडिएको खुल्ला सिमानाका कारण लागुऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीले जनाएको छ ।
“अहिलेको मुख्य समस्या भनेको लागूऔषध छ, यसको रोकथामका लागि प्रहरी निर्मम भएर लागेको छ,”जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले भन्नुभयो “भारतसँगको खुल्ला सीमानाकाका कारण चुनौतीपूर्ण छ ।”
उहाँका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा २५ वटा मात्रै रहेका लागू पदार्थ सम्बन्धी मुद्दा ०८१/०८२ मा झन्डै दोब्बरले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा लागु औषधका मुद्दा ४६ पुगेका छन् । यस वर्ष ३१ हजार ९१० पिस नशालु ट्याब्लेट, ३८४ ग्राम २३३ मि.ग्राम. ब्राउन सुगर र २९४ के.जी. ६९४.३४१ ग्राम गाँजा बरामद गरिएको छ । झोल पदार्थभन्दा ट्याब्लेटको ओसारपसार बढी हुनुका पछाडि तस्करहरूले सजिलो माध्यमको खोजी गर्नु रहेको उहाँले बताउनुभयो ।
प्रबक्तासुवेदीका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा बिभिन्न प्रकृतका ४२४ मुद्दा दर्ता भएका छन् । तीमध्ये २२४ मुद्दा फछ्र्यौट भइसकेका छन् भने बाँकीमाथि प्रक्रिया अघि बढिरहेको छ । यो सख्या अघिल्ला वर्षहरूको तुलनामा बढी हो । कुल ३१८ अभियुक्त पक्राउ परेका छन्, जसमा २९९ पुरुष र १९ महिला छन् । यद्यपि ८१ पुरुष र १० महिला अझै फरार छन् । जबरजस्ती करणी र लागूपदार्थ मुद्दामा फरार अभियुक्तको संख्या उल्लेखनीय रहेको प्रहरीले जनाएको छ ।
जिल्लामा २०५ सवारी दुर्घटना दर्ता भएका छन् । तीमध्ये ३० जनाले ज्यान गुमाए भने ९१ गम्भीर घाइते र ४३० सामान्य घाइते भएको विवरण छ । लागूपदार्थ सेवन गरेर गाडी चलाउने ३६ चालक पक्राउ परेका छन् । ४०१ जना सवारी चालकमा लागु पदार्थ सेवन गरे नगरेको भनी जाँच गरिएको थियो ।
उहाँले प्रहरीले लागूऔषध ओसापसार, बेचबिखनविरुद्ध प्रहरी निर्मम भएर लागेको बताउनुभयो । उहाँले विद्यार्थीदेखि समुदायस्तरमा लागूऔषध निर्मूल गर्नका लागि विभिन्न समयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले लागूऔषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिंसा, सवारीसाधन दुर्घटना, चोरी–तस्करी, मोबाइल चोरी र साइबर अपराधले शान्तिसुरक्षामा चुनौती थपिदिएको बताउनुभयो ।
“प्रहरीसँग न्यूनतम स्रोतसाधनका बीच पनि अधिकतम उपभोग गर्दै शान्तिसुरक्षामा सेवा प्रबाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अपराध न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा साझेदारी कार्यक्रम सञ्चालन गरिराखेको छ ।” प्रहरीद्वारा सञ्चालन गरिएका ८७२ सचेतनामूलक कार्यक्रमहरूबाट ३२ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।