शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सहिद पुत्रको राजन दाहाललाई प्रश्न : “२०५५ मा आत्मसमर्पण गरेर माओवादी नेतृत्वमा दाबी कत्तिको नैतिक ?

बिहिवार , श्रावण १५, २०८२

”सिन्धुली, — नेकपा (माओवादी केन्द्र) का नेता तथा वर्तमान संघिय सांसद लेखनाथ दाहाल ‘राजन’ विरुद्ध माओवादी जनयुद्धका सहिद परिवारका सन्तानले कडा प्रश्नहरू उठाएका छन् । “दाहालले जनयुद्धको कठिन कालखण्डमा ‘आत्मसमर्पण’ गरेको इतिहास सम्झाउँदै, उनी आज जनयुद्धको गौरव बोकेर पार्टी नेतृत्वमा अगाडि सर्ने नैतिकता राख्दैनन्” भन्ने तर्क सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रस्तुत गरिएको हो ।

यो विवाद तब चुलिएको हो जब दाहालले माओवादी उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)लाई लक्षित गर्दै टिप्पणी गर्नुभयो । त्यसपछि सिन्धुलीका जनयुद्वका शहीद महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले दाहालको पुरानो ‘भूगोल’ उजागर गर्दै सोध्नुभयो ?,

“ २०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ सालसम्म आफू कहाँ थिए भनेर याद गर्नुपर्दैन ? त्यसै जनार्दन शर्मासँग भिड्न खोजेर हुन्छ ? त्यस्तो हैसियत पनि छ र ??”

श्रेष्ठका अनुसार राजन दाहालले भूमिगत संघर्षको निर्णायक घडीमा आन्दोलनबाट टाढा हट्दै आत्मसमर्पणको बाटो रोज्नुभएको थियो । अब आएर त्यही आन्दोलनको साख र योगदानलाई आधार बनाएर नेतृत्वको दाबी गर्नु नैतिक रूपमा गलत भएको उहाँले बताउनुभयो ।

“के २०५५ सालमा आत्मसमर्पण गरेका दाहाल आज जनयुद्धको त्याग र समर्पणका साक्षी बन्न सक्छन ?” यो प्रश्न सहिद परिवारको तर्फबाट सामाजिक विमर्शको केन्द्रमा आएको छ ।

महेन्द्र श्रेष्ठ माओवादी जनयुद्धको शुरुआती चरणमा सैन्य र राजनीतिक नेतृत्वमा रहेर योगदान दिनुभएका एक प्रमुख नेता हुनुहुन्थ्यो । भारतबाट प्रशिक्षण लिएर फर्किनुभएका श्रेष्ठले आफ्नो नेतृत्वमा दर्जनौँ युवालाई युद्धमा ल्याउनुभएको थियो जसमा आफ्ने सहोदार दाजु दीर्घराज श्रेष्ठ, गंगा श्रेष्ठ, कल्पना सुवेदी, र ध्रुव देवकोटा जस्ता नाम रहेका छन् । सहिद श्रेष्ठलाई तत्कालिन साहि नेपाली सेनाले २०५५ साउन विरामी भएर सुतिरहेको अवस्थामा ओखलढुंगावाट गिरफतार गरी असोज ४ गते उदयपुरको खोक्सामा हत्या भएको थियो ।

यस्तै अर्का सहिद दिलकाजी कार्कीका छोरा प्रतीक कार्कीले पनि राजन दाहालको भनाईलाइलाई खण्डन गर्दै पनि फेसबुकमार्फत कडा टिप्पणी गर्नु भएको छ । उहाँलेका फेसबुकमा लेख्नु भएको छ , “एउटा तप्का माओवादी पार्टीको नेतृत्व उहाँ (प्रचण्ड) ले मात्र गर्न सक्नुहुन्छ भन्ने भ्रम फैलाइएको छ । यो पार्टी हजारौँ योद्धा र इमानदार जनताको सामूहिक प्रयासले बनेको हो ।”

उहाँले अगाडी लेख्नुभएको छ, “उहाँले नेतृत्व गरिरहनु कार्यकर्ताको विश्वासको कारण हो, कुनै अद्भुत क्षमता भएर हैन । अब नेतृत्वमा सबै कार्यकर्तालाई समान अवसर दिनुपर्छ। माओवादी युद्ध सरदारहरूको पार्टी हैन, यो मुक्ति योद्धाहरूको पार्टी हो ।”

यता, शहीद दिलकाजी कार्कीका छोरा प्रतीक कार्कीले पनि राजन दाहालको भनाईलाइलाई खण्डन गर्दै नेतृत्वमा दावी गर्नुअघि जनयुद्धको ऐतिहासिक भूमिका स्मरण गरिनुपर्ने बताउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ ,“यो पार्टी कुनै एकजनाको अदभुत क्षमताले बनेको होइन । हजारौँ इमानदार योद्धाको त्याग र संघर्षले बनेको हो ।”

उनले प्रचण्डको नेतृत्वप्रति सीधै प्रश्न नउठाए पनि यस्तो संकेत दिनुभएको छ कि अब नेतृत्वमा सबै कार्यकर्तालाई समान अवसर मिल्नुपर्छ । उनले लेख्नुभएको छ, “माओवादी पार्टी कुनै युद्ध सरदारहरूको क्लब होइन, यो जनताको मुक्ति आन्दोलन हो ।”

प्रतीकका पिता दिलकाजी कार्की २०५९ साल असारमा शाही सेनाको कारबाहीमा खोटाङमा मारिनुभएको थियो । आफ्नो बाबुको बलिदान सम्झँदै उहाँले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा इमानदारी, पारदर्शिता र ऐतिहासिक योगदानको मूल्यांकन हुनुपर्ने माग गर्नु भएको छ ।

यो बहस केवल एक नेताको आलोचना वा बचाउको विषय होइन । यो माओवादी आन्दोलनको इतिहास, योगदानको मान्यता, र आजको नेतृत्व संस्कृतिमाथिको गहिरो बहस हो । अब प्रश्न उभिएको छ, “इतिहास बिर्सेर नेतृत्वको दाबी गर्न पाइन्छ?“ र “पार्टी एक व्यक्तिको वरिपरि मात्र घुम्ने कि साझा योगदानको मूल्यांकन गर्ने ?”

यस बहसले माओवादी केन्द्रभित्र नेतृत्व चयन, मूल्यांकन र वैचारिक अनुशासनबारे गहिरो विमर्श थाल्ने संकेत देखिएको छ ।

प्रतिक्रिया