शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कछुवाको गतिमा अघि बढ्दै सुनकोशी–मरिन डाइभर्सन आयोजना

बिहिवार , श्रावण १५, २०८२

सिन्धुली – मधेसका खेतहरूमा वर्षैभरि पानी पुर्‍याउने सपना बोकेको सुनकोशी–मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजना ढिलो गतिमा अघि बढिरहेको छ । लगभग पाँच वर्षअघि, २०७७ सालमा शिलान्यास गरिएको यो आयोजना हालसम्म “कछुवाको चाल” मा सीमित देखिएको छ ।

मधेस प्रदेशका पाँच जिल्ला, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने ठूलो लक्ष्य लिएको यो आयोजना हाल कागजमै तीव्र, तर स्थलमा मन्द देखिएको छ ।

नेपाल सरकारले संकटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको मधेसमा यो आयोजना जीवनरेखा सावित हुने अपेक्षा गरिएको छ । तर, एक वर्षअघि सुरुङ ब्रेक थ्रु गरिए पनि बाँध निर्माणको काम भने खासै देखिएको छैन ।

१४ अर्ब ७ करोड ५९ लाख रुपैयाँको लागतमा ठेक्का पाएको भारतीय–नेपाली संयुक्त निर्माण कम्पनी पटेल–रमण ले ३० महिनामा जम्मा ७ प्रतिशत मात्र बाँध निर्माणको काम सम्पन्न गरेको छ । सुनकोशी नदीको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका–कुसुमटार हुँदै सुरुङमार्फत मरिन खोलामा मिसाइने योजना छ । त्यसपछि मरिन नदी हुँदै बागमती ब्यारेजको माध्यमबाट तराई मधेसका खेतहरूमा सिँचाइ पु¥याइनेछ ।

हालसम्म आयोजना सम्पन्न भएको समग्र भौतिक प्रगति ३५ प्रतिशत मात्र रहेको आयोजनाको भनाइ छ । २०८४ साल असोजसम्म आयोजना पुरा गर्ने लक्ष्य राखिएको भए पनि हालको गतिले हेर्दा उक्त लक्ष्य गन्तव्यभन्दा टाढा देखिन्छ ।

स्थानीय बासिन्दादेखि प्राविधिक विश्लेषकसम्मले एकै स्वरमा भनेका छन्, “सुनकोशीको पानीको बाटो तय गरिँदैछ, तर गन्तव्यसम्म पुग्ने सपना भने अझै टाढा छ ।”

प्रतिक्रिया