शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

पोखरा पुगेको हायू परिवारलाई गाउँ फर्काउन स्थानीय सरकारको प्रयास

बुधवार , श्रावण १४, २०८२

सिन्धुली, – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास विप्पर कटेरीबाट रातारात विस्थापित भई पोखरा पुगेको हायू समुदायका १६ सदस्यीय परिवारलाई पुनः गाउँ फर्काउन स्थानीय सरकारको सक्रिय प्रयास सुरु भएको छ ।

गत साता घर, चौपाया, पशुपन्छी सबै त्यत्तिकै छाडेर पोखरा पुगेकी उर्मिला हायु नेतृत्वको परिवारलाई बुधबार गोलन्जोर गाउँपालिका–६ का वडा अध्यक्ष रविन श्रेष्ठसहितको टोलीले भेटी गाउँ फर्कन आग्रह गरेको हो । अध्यक्ष श्रेष्ठले उर्मिला र जेठा छोरा राजुलाई भेटेर सम्भावित राहत, पुनस्र्थापना तथा सुविधा सुनिश्चित गरिने जानकारी गराउनु भएको थियो ।

उर्मिला र जेठा छोरालाई राखेर सम्भावित विपद्देखि वडा तथा स्थानीय र संघीय माननीयले गर्ने सहयोगको विषयमा जानकारी दिई थातथलो फर्किन आग्रह गरिएको वडाध्यक्ष रविन श्रेष्ठले बताउनुभयो । ६ नं. वडाको छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर, चौपाया र पशुपक्षीलाई त्यत्तिकै छाडेर हायु परिवार पोखरा पुगेको थियो । हायु परिवार हराएको भनेर सोमबार दिनभर तथा राति अबेरसम्म सञ्चारमाध्यमको प्राथमिकता परेको थियो ।

उनिहरुलाई घर भएको जमिन खरिद गरिदिने, अस्थायी बसोबासका लागि वडामै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थालाई प्राथमिकतामा राख्ने वचन दिएको वडाध्यक्ष श्रेष्ठले लाई बताउनुभयो ।

उहाँले भन्नुभयो,“मैले त तत्कालका लागि सदरमुकाम सिन्धुलीमाडीमा रहेको मेरो घर खाली छ, त्यहीँ गएर बस्नुस् । यो पोखरा जस्तो महँगो ठाउँमा तपाईँहरूलाई गाह्रो हुन्छ भनेर सम्झाएँ । छोरा तयार भए, तर आमा उर्मिला मानेकी छैनन् ।” जेठा छोरा राजु हायुले आमा, बहिनी भाइहरू मानेमा आफू फर्कन तयार रहेको बताएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हायू परिवारले सडक, स्वास्थ्य, शिक्षा तथा खानेपानी सुविधाको अभाव र खेतीपातीको न्यून उत्पादनले जीवन धान्न नसकिएको गुनासो गरेको छ । “गाउँमा जति मेहनत गरे पनि तीन महिनासमेत खान नपुग्ने भएपछि सहर पस्नु बाध्यता बन्यो,” परिवारले टोलीसामु भनेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँमा र बैंकको गरेर ३ लाख पुग्न नपुग ऋण बनीबुतो गरेरै भए पनि तिर्ने दृढता उनीहरूले व्यक्त गरेका थिए ।

गाउँकै मानिसहरूलाई हारगुहार गरेर खसीबाख्रा, कुखुरा, चल्ला, पाडीको हेरचाहको व्यवस्था मिलाएकोले फर्कनुस्, वडामा जहाँ सहज हुन्छ त्यहीँ बस्ने व्यवस्था मिलाउँछौँ, भनेर परिवारलाई सल्लाह गर्न भनिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हायु परिवारले सल्लाह गर्छौँ भनेका छन् ।”

स्थानीय वडाअध्यक्षको पहलसँगै नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सिन्धुली क्षेत्र नं. १ का संघिय सांसद श्याम घिमिरेले े पनि आर्थिक, भौतिक र नैतिक सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। “लोपोन्मुख हायू जातिको जोगावट र पुनस्र्थापनाका लागि आवश्यक सबै सुविधा दिन प्रतिबद्ध छु,” घिमिरेले बताउनुभयो ।

उर्मिला बाहेक ६ छोरा, ६ छोरी, १ बुहारी, १ नाति र १ नातिनी गरी १६ जनाले साउन ६ गते आर्थिक वर्ष ०८१÷८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको सामाजिक सुरक्षा भत्ता गोलन्जोर–७ खुर्कोटमा रहेको हिमालयन बैंकबाट बुझेका थिए भने ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका थिए ।

हायु परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका थिए । लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत हायु जातिको जनसंख्या २०७८ को जनगणनाअनुसार ३ हजार ६९ रहेको छ । तीमध्ये अधिकांशको जीवनस्तर अत्यन्त न्यूनस्तरमा रहेको देखिन्छ ।

प्रतिक्रिया