शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

काठमाडौंमा लुटपाटमा संलग्न सिन्धुलीका दुई जना पक्राउ

बुधवार , श्रावण १४, २०८२

काठमाडौ,ं १४ साउन– नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने ४७ वर्षीय बिमल तामाङ र सिन्धुली दुधौली नगरपालिका–१२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने ३९ वर्षीय लालबहादुर घिसिङ रहेका छन् ।

साथै यसरी लुटिएका सुनका गरगहनाहरू खरिद गरेको आरोपमा पनि एक जना पक्राउ परेका छन् । खोटाङको मझुवागढी नगरपालिका–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल विक छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । यो समूहले नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसी बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भन्दै लुटपाट गरेको खुलेको छ ।

सक्कली सुन भन्दै नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले बताएको छ ।

उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया