शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको सडकमा मेटिए जेब्रा क्रसिङ, असुरक्षित पैदलयात्री

बुधवार , श्रावण १४, २०८२

सिन्धुली, – सिन्धुलीका बजार क्षेत्रका सडकमा जेब्रा क्रसिङ नदेखिएपछि पैदलयात्रीहरू सवारी दुर्घटनाको जोखिम मोल्दै बाटो काट्न बाध्य भएका छन् । बजार, विद्यालय र भीडभाडयुक्त क्षेत्रमा दैनिक सयौं मानिस आवतजावत गर्ने भए पनि आवश्यक स्थानमा जेब्रा क्रसिङ नहुँदा सर्वसाधारण झनै असुरक्षित बनेका छन् ।

दुधौली नगरपालिकाको बजार, कमलामाई नगरपालिका, भिमान, गोलन्जोर गाउँपालिका खुर्कोट लगायतका स्थानमा सडक छेउछाउमा मान्छेको चहलपहल उच्च हुँदा पनि सुरक्षित रूपमा सडक पार गर्नुपर्ने आधारभूत पूर्वाधारको अभाव देखिएको छ । कतिपय स्थानमा त पैदलयात्री गाडीको बिचबाट दौडेर बाटो काट्न बाध्य छन् ।

स्थानीय माधव पाण्डेले भन्नुभयो, “यहाँ दिनभर सवारीको चाप धेरै हुन्छ। बालबालिका, वृद्धवृद्धालाई बाटो काट्न हम्मे हम्मे पर्छ। जेब्रा क्रसिङ नहुँदा बिहान–बेलुका विद्यालय आवतजावत झनै जोखिमपूर्ण हुन्छ ।”

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार, सदरमुकाम क्षेत्रमा १७ स्थानमा जेब्रा क्रसिङको आवश्यकता पहिचान गरिएको छ । तर, नगरपालिका र सम्बन्धित निकायसँग बारम्बार अनुरोध गर्दा पनि समन्वय नहुँदा कार्यान्वयन रोकिएको छ । “ट्राफिक नियम प्रभावकारी बनाउन सडक चिन्ह आवश्यक छन्। जेब्रा क्रसिङ नहुँदा पैदलयात्री दुर्घटनाको मुख्य जोखिममा छन्,” उहाँले भन्नुभयो ।

पैदल यात्रु सुरक्षाका लागि प्रमुख बजार क्षेत्र, विद्यालय वरपर अनिवार्य रूपमा जेब्रा क्रसिङ बनाइनुपर्ने, र सवारी चालकलाई त्यस्ता स्थानमा गाडी रोक्ने संस्कारको विकास गरिनुपर्ने प्रहरीको भनाइ छ ।

स्थानीयवासीहरू पनि बजार क्षेत्रमा सर्वेक्षण गरी तत्काल जेब्रा क्रसिङ निर्माणको माग गरिरहेका छन् । उनीहरूको अनुसार सडकमा अनुशासन हराउँदै गएको छ, जसले आगामी दिनमा दुर्घटनाको जोखिम थप बढाउनेछ ।

जेब्रा क्रसिङ पैदलयात्रीको सुरक्षाका लागि बनाइने अत्यावश्यक चिन्ह हो । तर अहिलेको अवस्थामा, त्यही चिन्ह मेटिँदा वा नबन्दा सर्वसाधारणलाई जीवन जोखिममा पार्दै सडक पार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । स्थानीय तहको सक्रियता बिना यो समस्या समाधान नहुने स्पष्ट देखिन्छ ।

प्रतिक्रिया