शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

तिनपाटनमा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको वृक्षारोपण

बुधवार , श्रावण १४, २०८२

सिन्धुली – राष्ट्रिय युवा संघ नेपाल, सिन्धुली जिल्ला समिति र तिनपाटन गाउँपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत स्थानीय युवा, पार्टीका विभिन्न नेतागण,तिनपाटन गाउँपालिकाको पूर्व उपाध्यक्ष पदममाया तामाङ, पार्टी नेता प्रदीप कटुवाल तथा राष्ट्रिय युवा संघ नेपालका सिन्धुली जिल्ला अध्यक्ष अरुण लामासहितको सक्रिय सहभागितामा करिब ६ सय बिरुवा रोपिएको हो ।

वृक्षारोपण कार्य लामपाटरस्थित कलेज परिसर, स्वास्थ्य चौकी, गाउँपालिका भवन वरपर तथा चकमकेको रिभरसाइड क्षेत्रमा सम्पन्न गरिएको हो। वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु सन्तुलन कायम गर्न युवाहरूको सक्रियता अत्यन्तै सराहनीय रहेको आयोजकले जनाएका छन् ।

तिनपाटन गाउँपालिकाको पूर्व उपाध्यक्ष पदममाया तामाङले कार्यक्रमको उदघाटन गर्दै वातावरण संरक्षणका यस्ता अभियानहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी नेता प्रदीप कटुवालले स्थानीय युवाहरूको एकताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, गाउँपालिका क्षेत्रका युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष अरुण लामाले भन्नुभयो, “वातावरणको संरक्षणका लागि युवा पुस्ता आफैं अघि सर्नु सकारात्मक संकेत हो । यस्ता अभियानहरूले प्रकृतिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावनालाई अझ बलियो बनाउँछ ।“

सहभागी सबैले यस प्रकारका अभियानले गाउँघरमा वातावरणीय चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया