काठमाडौँ,१३ साउन – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ बस्ने असिम तामाङ र धनवहादुर तामाङको जिम्मा लगाएको हो । धनबहादुरतामाङ बेपत्ता भएको भनेकी कमला हायूको श्रीमान हो । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका हुन् । उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ ।
एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो । सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्ततः पोखराकै गगनगौंडामा भेटिएका थिए ।
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए । उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले छोडेर हिँडेको र नफर्किने बताएका थिए ।

