शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्गको ३० किलोमिटर सडक दुई लेनमा विस्तार हुने

मंगलवार , श्रावण १३, २०८२

सिन्धुली – बिपी राजमार्गको करिब ३० किलोमिटर सडक अब राष्ट्रिय मापदण्डअनुसार दुई लेनको बन्ने भएको छ । सडक विभागले हाल विभिन्न चार खण्डमा निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एक खण्ड अनुदानमा निर्माण गर्न लागेको हो ।

सडक विभागका अनुसार सम्झौतामिति पछि दुई वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । यस योजनाले सवारी आवागमन सहज बनाउने, ट्राफिक जाम घटाउने तथा दुर्घटनाको जोखिम न्यून गर्ने अपेक्षा गरिएको छ ।

भकुण्डेबेंसीदेखि चारसय बेंसीसम्मको ११ किलोमिटर सडक खण्डको निर्माण ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएको छ । विभागसँगभएकोसम्झौताअनुसार यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँको ठेक्का मूल्य निर्धारण गरिएको छ ।

चारसय बेंसीदेखि डालाबेंसी सम्मको ९ किलोमिटर दूरीको सडक खानी–कमलजित–एवान जेभीले निर्माण गर्ने भएको छ । यसका लागि विभागले भ्याटबाहेक १अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिसकेको छ । यी दुवै खण्ड दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको हो ।

बिपी राजमार्गमा पर्ने पिप्लेदेखि बर्खे खोलासम्मको खण्डको निर्माण जाइकाले गर्ने भएको छ । प्रारम्भिक योजना अनुसार ५ किलोमिटर खण्ड बनाउन चाहेको भए पनि पछि जाइकाले जम्मा ३.२ किलोमिटर मात्रै बनाउने जानकारी दिएको हो ।उक्तखण्डमा अहिले जाइकामार्फत अन्तिमसर्भेको काम भइरहेको छ । पानी सरकारको अनुदानमा निर्माण हुने भएकाले यसको ठेक्का प्रक्रिया पनि जापान सरकारकै संयोजनमा हुनेछ ।

जाइकाको खण्डमा नै पर्ने पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किलोमिटर सडकखण्डको ठेक्का भने विभागले छुट्टै निर्माण कम्पनीमार्फत गराउने तयारी गरेको छ । हालसम्म उक्तखण्डको ठेक्का भइसकेको र केही हप्तामै सम्झौता प्रक्रिया औपचारिकरूपमा सम्पन्न हुने विभागले जनाएको छ ।

यता सिन्धुली जिल्लाको बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्डको सडक निर्माण कार्य खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पाएको छ । यसका लागि भ्याटबाहेक ५५करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भइसकेको छ ।

राजमार्गको स्तरोन्नतिले काठमाडौंलाई तराई तथा पूर्वी नेपालसँग जोड्ने वैकल्पिक मार्गको रूपमा बिपी राजमार्गको महत्व झनै बढाउने विश्वास गरिएको छ । सडकको अत्यधिक घुम्ती, साँघुरा खण्ड र बिग्रिएको सतहले यात्रु र चालकलाई सास्ती दिइरहेको सन्दर्भमा यो स्तरोन्नति यात्रु सुरक्षासहित यातायात, व्यापार तथा पर्यटनको विकासमा टेवा पु¥याउने विभागको भनाइ छ ।

विभागले भौगोलिक बनावट, माटोको गुणस्तर र वर्षाको प्रवृत्तिलाई ध्यानमा राखी उच्च प्रविधि तथा गुणस्तरीय निर्माण हुने जनाएको छ । साथै, आवश्यक सबै प्रक्रिया–नक्सा, अन्तिम सर्भे, डिजाइन तथा वातावरणीय मूल्याङ्कन पूरा भइसकेकोले अब निर्माण कार्य प्रारम्भ हुने चरणमा पुगेको विभागले जनाएको छ ।

प्रतिक्रिया