सिन्धुली – सिन्धुलीको गोलोन्जर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्ने उर्मिला हायूको परिवारका १६ जना अन्ततः पोखरामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको समन्वयगरी पोखरा महानगरपालिका–३० स्थित दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा उनीहरू भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेढीका अनुसार गत शनिबार नै पोखरा पुगेका उनीहरू उक्त दिन लेकसाइडस्थित होटल जननीमा पुगेका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार, सो दिन उनीहरू तीन वटा कोठा लिएर बसेका थिए ।
रातको १ बजे छाडेका थिए हायू परिवारले थातथलो
उक्त परिवारले गत साउन १० गते राति १ बजे आफ्नो थातथलो छाडेका थिए । मधेश प्रदेश ०४–००१ ज ००८१ नम्बरको ईभी भ्यानमा खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेको प्रबक्ता सुवेदीले जानकारी दिनुभयो ।
“ईभी चालक जीवनसँगको कुराकानीको अधारमा रातको १ बजे घरबाट निस्केको देखियो,” सुवेदीले भन्नुभयो । ईभी चालक जीवनले पोखराको लेकसाईडमा रहेको जननी होटलमा लगेर छाडेका थिए । होटलबाट निस्किएका उनीहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा पुगेका थिए ।
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए । उनीहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रसासन कार्यालय र प्रहरी कार्यालय रामेछापको टोली परिचालित भएका थिए ।
सम्पर्कविहीन भएका उनीहरूको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको थियो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको नेतृत्वमा रामेछापमा रहेका हायू समुदायको प्रत्येक घरमा प्रहरी पुगेको थियो । रामेछाप नगरपालिका ९ सेलेघाटदेखि रामेछाप बजारसम्म, हराएकी उर्मिलाको माईतीको घरमा समेत प्रहरी पुगेको थियो ।
सिन्धुली र रामेछाप लगायतका विभिन्न स्थानका प्रसासन, स्थानीय जनप्रतिनिधि लाग्दा पनि नभेटिएका उनीहरू पोखरामा भेटिएका थिए । सोमबार बिहान एकै परिवारका १६ जना बेपत्ता भएको खबर अनलाइनखबरले प्रकाशित गरेको थियो । प्रहरी, प्रशासन, स्थानीय जनप्रतिनिधिसहितको टोली खोजी कार्यका लागि सक्रिय भएको थियो । अन्ततः साँझ उनीहरू पोखरा पुगेको भेटिए । अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतले बताए अनुसार, उनीहरूले सिन्धुलीको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा पुगेको बताएका छन् । “सिन्धुलीको त्यो ठाउँमा हामी बिसन्चो भइरहने भएको कारणले हामी नयाँ ठाउँमा आएका हौं भनेका छन्,” प्रहरीसमक्ष उनीहरूले बताएका छन् ।
पटकपटक बिरामी पर्ने र उपचारका लागि अस्पताल जान पनि असहज भएपछि त्यहाँबाट हिँडेको उनीहरूले प्रहरीलाई बताएका छन् ।
सिन्धुली फर्कन छैनन् तयार
प्रहरीका अनुसार, उनीहरूले सिन्धुली फर्कन तयार नभएको बताइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले भन्नुभयो, “उहाँहरू सिन्धुली फर्कन तयार हुनुहुन्नँ ।”
आफूहरूलाई सिन्धुलीको उक्त क्षेत्रभन्दा अन्यत्र नै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् । “हामी यतै बस्छौं । उता, जाँदैनौं,” हायू परिवारका सदस्यको भनाइ उद्धृत गर्दै ओलियाले भन्नुभयो ।
ज्यामी काम गर्ने भन्दै लिएका थिए शरण
सिन्धुलीका उक्त परिवारका सदस्यहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएका थिए । स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । “दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,” एसपी ओलियाले भन्नुभयो ।
उनीहरू आफूहरू ज्यामी काम गर्नका लागि आएको भन्दै पौडेल र भण्डारीको घरमा बसेका थिए । “हामी ज्यामी काम गर्न आएका हौं भन्दै उहाँहरू ती घरमा बस्नुभएको रहेछ,” ओलियाले भन्नुभयो ।