सिन्धुली – सिन्धुलीमा बेपत्ता भएका १६ परिवारको माइली छोरी–ज्वाइँ प्रहरीको सम्पर्कमा आएका छन् । सुजता हायू र ज्वाइँ आयूष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
“सुजता र आयूष हाम्रो सम्पर्कमा आउनु भएको छ,“ प्रवक्ता सुवेदलीले भन्नुभयो, “उहाँहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएको खुलेको छ ।”
हराएको सूचीमा सुजताको नाम उल्लेख गरे पनि उहाँ केही महिनाअघि काठमाडौंमा श्रीमानसँग बस्दै आएको पाइएको छ । गाउँलेहरूले उनको पनि नाम जोडे पनि गाउँको घरमा उनी नभएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
“सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी छन्,” सुवेदीले भन्नुभयो, “बाँकी सदस्य अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।”
तीन दिनअघि रामेछापमा लोकेसन देखाए पनि उनीहरू अहिलेसम्म भेटिएको छैनन् । उनीहरूलाई सोमबार बिहानदेखि जिल्ला प्रहरी सिन्धुली र रामेछापको टोलीले खोज्ने काम गरिरहेको छ ।