शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट फर्किएका थिए बेपत्ता परिवारका सदस्य

सोमवार , श्रावण १२, २०८२

सिन्धुली ,१२ साउन– सिन्धुलीको गालन्जोर–६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट घर छेउसम्म पुगेको पाइएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको हो ।

‘शुक्रबार ५ बजेर १९ मिनेट जाँदा ग्वालटार बजारबाट अटो ड्राइभरसँग कुरा भएको देखिन्छ,’ सीडीओ भुसालले  भने, ‘बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा उहाँले भन्नुभएको छ ।’

चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । ग्वालटार पालिकाको केन्द्र हो । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार प्रयोग गर्ने गर्छन् ।

अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ । यद्यपि कुनै थप जानकारी भने आएको छैन ।

गत बिहीबार राज्यबाट प्राप्त हुने भत्ता एकैसाथ बैंकबाट बुझेका उनीहरू शनिबारयता बेपत्ता भएका हुन् । छिमेकीहरूले तीन दिनसम्म पनि नदेखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

केहीदिन अघि विदेशबाट आएका थिए जेठा छोरा

हायू संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूका अनुसार, उक्त परिवारका जेठा छोरा राजु हायू केही दिनअघिमात्रै विदेशबाट घर फर्किएका थिए । एकान्तमा घर भएका कारणले छिमेकीसँग कुनै पनि रिसराग नभएको उनी बताउँछन् ।

यद्यपि, पोखरामा पनि एकजना छोरी बस्ने गरेको उनले बताए । ‘पोखरामा पनि छोरी ज्वाइँ बस्नुहुन्छ । छोरी सिन्धुली आउजाउ गरिरहेको भन्ने थाहा पाएका छौं,’ उनले भने ।

पोखरामा बस्ने ज्वाइँको नाम समीर तामाङ रहेको उनी बताउँछन् । यद्यपि पोखरामा बस्ने सुनिएको भए पनि आधिकारिक ठेगाना कहाँ भन्नेबारे थाहा नभएको उनले बताए ।

सीडीओ भुसालका अनुसार अहिले एसपीको कमाण्डमा नेपाल प्रहरीको टोली खोजी कार्यमा खटिएको छ । सशस्त्र प्रहरीको टोली पनि खटाइएको उनले बताए । यसबारे गृह मन्त्रालयमा निरन्तर रिपोर्टिङ भइरहेको सीडीओ भुसाल बताउँछन् ।

 

प्रतिक्रिया