शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सम्पर्कविहीन हुनुअघि हायू परिवारका १६ जनाले नै सामाजिक भत्ता बुझेका थिए

सोमवार , श्रावण १२, २०८२

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरी घर भएका उर्मिला हायूको परिवारले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको छ । वडा नम्बर ६ का अध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधबार आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । श्रेष्ठले भने,'परिवारका १८ सदस्यमध्ये १ जना काठमाडौं र १ जना विदेशमा रहेकाले १६ जनाले भत्ता बुझेको भन्ने बुझिएको छ ।' उनीहरूले गोलन्जर गाउँपालिका-७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेका हुन् ।

हराएकाहरूमा उर्मिलासहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नाति र १ जना ज्वाइँ रहेका छन् । उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि निधन भइसकेको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार केहीले उनीहरूलाई खुर्कोटमा देखेको दाबी गरे पनि यकिन भने भएको छैन । पछिल्लो समय मोबाइलको लोकेसन रामेछापको मन्थली देखिए पनि सबैको मोबाइल स्विच अफ रहेको उनले बताए ।

प्रतिक्रिया