शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

देवघाटमा दान गरी हाम फालेका थिए सिन्धुलीका ५२ वर्षीय लोचन

सोमवार , श्रावण १२, २०८२

काठमाडौं,१२  साउन- लोचनराज घिमिरेको दैनिकी ठिकठाक चल्दै थियो । सिन्धुलीको कमलामाई नगरपालिका–५ का ५२ वर्षीय घिमिरेको दम्पती लामो समयदेखि सिन्धुली मुकाममै फलफूल पसल चलाउँथे ।

उनको एक छोरा, एक छोरी श्रीमतीसहितको खुसी परिवार थियो । छोरी वैदेशिक रोजगारीका निम्ति पोर्चुगलमा छिन्, छोरा काठमाडौंमा बस्छन् । शुक्रबार यता सिन्धुलीको फलफूल पसल बन्द छ । त्रिलोचन बेपत्ता भएपछि पसल बन्द हुन पुगेको हो ।

प्रहरीका अनुसार, अब  लोचन फर्किने सम्भावना न्यून छ । किनकि, उनी चितवनस्थित देवघाटको पुलबाट हाम फालेर बेपत्ता भएका छन् ।

शुक्रबार अपराह्न ५ बजेतिर पुलबाट हाम फालेर बेपत्ता भएका  लोचनको खोजीका लागि चितवन प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले नियमित खोजीका लागि खटिएको छ । तर, उनको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले घिमिरेको खोजीका लागि बोटिङसहितको प्रहरी टोली घटना लगत्तैदेखि खटाएको जानकारी दिए ।

एसपी पुरी भन्छन्, ‘‘के कति कारणले उहाँले हाम फाल्नुभयो, त्यो खुलेको छैन । परिवारमा कुनै मनमुटाव भएजस्तो पनि देखिँदैन । सिन्धुलीबाट देवघाटको पुलबाट हाम फालेको खुलेको छ ।’’

प्रहरीका अनुसार, त्रिलोचनकी श्रीमती र छोरासमेत देवघाट पुगी प्रहरीसितै खोजीमा सक्रिय छन् । तर, घटनाको तीन दिनसम्म पनि घिमिरेको अवस्था अज्ञात छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा त्रिलोचनले शुक्रबार बिहान सिन्धुलीस्थित फलफूल पसल खोलेर चितवन देवघाट हिँडेका थिए । सिन्धुलीबाट त्रिलोचनले देवेन्द्र श्रेष्ठको बलेरो जिप बुक गरेर देवघाट पुगेको खुलेको हो ।

पूर्वयोजनासहित हाम फालेको आशंका

प्रहरीको प्रारम्भिक अनुसन्धानले पूर्वयोजनाअनुसार त्रिलोचन देवघाट पुगी पुलबाट हाम फालेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान सिन्धुलीमा पसल खोलेर परिवारलाई कुनै जानकारी नदिई हिँडेका त्रिलोचन करिब १० बजे देवघाट पुगेको खुलेको छ ।

उनी यसअघि पनि देवघाट आउजाउ गर्थे । उनले शुक्रबार देवघाटका लेखा प्रमुख विष्णु सापकोटासँग सम्पर्क गरेको देखिएको छ ।

देवघाट क्षेत्रमा आश्रम पनि छन् । दाताहरूको सहयोगमा देवघाटको रोटरी करुणालय वृद्ध सदाव्रतले देवघाटमा आउने ब्रतालु र त्यहाँ बस्ने भक्तजनहरूलाई बिहान बेलुका सधैँ निःशुल्क भोजनको व्यवस्था गर्छ ।

शुक्रबारको भोजनको व्यवस्था पनि उनै त्रिलोचनले गरेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा सिन्धुलीबाट जिप बुक गरेर देवघाट हिँडेका त्रिलोचनले सदाव्रतका लेखा प्रमुख सापकोटालाई टेलिफोन गरी बिहानको भोजनको व्यवस्थापन आफ्नो नामबाट गर्दिन र त्यहाँ पुगेपछि दान रकम दिने बताएका थिए ।

त्यसपछि सापकोटाले उनकै नामबाट शुक्रबार बिहान साढे ९ बजे तीर्थालु र भक्तजन र आश्रममा बस्नेहरूलाई भोजन खुवाए । करिब १० बजे पुगेका त्रिलोचनले बिहानमात्रै होइन, साँझको खाना पनि आफ्नै नामबाट खुवाउने जानकारी सापकोटालाई दिए । आफूले समेत रोटरी करुणालय वृद्ध सदाव्रतस्थलमै खाना खाए ।

करिब तीन घण्टा देवघाटमा बिताएका त्रिलोचनले देवघाटका धार्मिक संस्थालाई दान गरे । देवघाटकै रामजानकी कन्या गुरुकुल शिक्षालयमा समेत केही रकम दान गरे ।

दानपछि रसिद काट्ने परम्परा छ, देवघाटमा । तर, त्रिलोचनले रसिद लिन इन्कार गरे । नाम भने लेखाए । विभिन्न संस्थामा दान गरेपछि भने उनी पुल तरेर तनहुँ हिँडे ।

तनहुँतिर पनि केही आश्रम छन् । त्यहाँसमेत उनले दान गरे । रोटरी करुणालय वृद्ध सदाव्रतालयका लेखा प्रमुख सापकोटालाई आफूले भनेअनुसार साँझको खानासमेत भक्तजन र ब्रतालुलाई चाँडै खुवाइदिन आग्रह गरे ।

देवघाटको करुणालय वृद्ध सदाव्रतालयले साँझको खाना हरेक दिन साढे ५ बजे मात्रै खुवाउने गर्छ । तर, त्रिलोचनको आग्रह अनुसार, शुक्रबार ४ बजे नै खुवाइयो ।

लोचनले करुणालय वृद्ध सदाव्रतालयका सापकोटासँग भनेका थिए, ‘‘म चाँडै सिन्धुली फर्किनुपर्छ । म यतै हुँदा खाना खुवाइदिनुभयो भने फर्किन सजिलो हुन्छ । चाँडै खुवाइदिनुहोला ।’’

देवघाटपारि पुगेका त्रिलोचन आफू भने खाना खुवाउने बेला उपस्थित भएनन् । बरु देवघाटको पारी बसेका त्रिलोचनले सापकोटालाई ४ बजे फोन गरी सोधे, ‘‘आश्रममा बस्ने तथा भक्तजनहरूलाई खुवाइदिनुभयो त ?’’

सापकोटाले उत्तर फर्काए, ‘‘खै ! तपाईं आउनु भएन । यता त सबैले खाना खाएर आराम गर्न नै गइसक्नुभयो ।’’

सापकोटालाई धन्यवाद दिँदै त्रिलोचनले श्रीमतीसँग फोनका कुराकानी गरेका थिए । प्रहरीका अनुसार, श्रीमतीलाई फोन गरेर त्रिलोचनले आफूले देवघाटबाट देहत्याग गर्ने र आफूले लगाएको औँठी र सिक्री घरमा राखेको जानकारी दिएका थिए ।

प्रहरीका अनुसार, श्रीमतीलाई फोन गरेको केही समयमै त्लोचनले देवघाटको पुलबाट हाम फाले । मोबाइल पुलमै छाडे ।

शुक्रबार अपराह्न करिब ५ बजे हाम फालेका  लोचनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पानीको बहाव बढेपछि खोजी कार्य कठिन बन्दै गएको प्रहरी अधिकारी बताउँछन् ।बाह्रखरीबाट

 

प्रतिक्रिया