सिन्धुली,१२ साउन – सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मीला हायू सहितको १६ जनाको परिवार चारदिनदेखि सम्पर्क विहीन भएका छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरी सहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । स्थानीय मोतिराज सापकोटाका अनुसार चारदिन अघि बिहीबार सुगुर काटेर भोज गरेपछि सम्पर्क विहीन भएका छन् । १५ मिनेटको दुरीमा रहेका छिमेकीहरुले पनि शुक्रबारदेखि नदेखेको बताएको स्थानीय सापकोटाले जनाउनुभयो । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठ सहित घरमै पुगेर खोजतलाश गर्दा कोही नभेटिएको जनाइएको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जल्नुका साथै भाँडाहरु अस्तव्यस्त अवस्थामा रहेका छन् । भान्सा केही जलेको समेत पाइएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेको र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । कुखुराहरु चरिरहेका छन् । अल्पसंख्यक लोपोन्मुख हायूजाती भएकाले सामाजिक सुरक्षा भत्ता लिंदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले संम्पर्कको प्रयास गरि राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । काहाँ गए कता गए अत्तोपत्तो भएन्, श्रेष्ठले भन्नुभयो, “सम्पर्क गर्ने हर प्रयास गरि राखिएको छ ।”
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्क विहीन भएका हायू परिवारको खोजतलाश भइरहेको जनाउनुभयो । फोनको लोकेशन रामेछाप मन्थली देखिएको भन्ने आएको छ ।, उहाँले भन्नुभयो, “कतै घुम्न गएका हुन् की भन्ने अनुमान छ । तर स्थलगत कोही भेटिएका छैनन् । अनकन्टारमा घर रहेकाले छिमेकीहरुको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।”