शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा साउनले चलायो महिला–केन्द्रित लघु व्यवसाय

सोमवार , श्रावण १२, २०८२

सिन्धुली – साउन महिनाको सुरुवातसँगै सिन्धुली जिल्लाका महिलाहरुको लघु व्यवसायमा उल्लेखनीय उछाल देखिएको छ । विशेषगरी श्रृंगारका सामानहरू, चुरा, पोते, मेहन्दी र परम्परागत सौन्दर्य वस्तुहरूको विक्रीमा तीव्र वृद्धि भएको छ, जसले स्थानीय महिला उद्यमीहरूलाई आर्थिक सशक्तिकरणतर्फ उन्मुख गराएको छ ।

सिन्धुलीमाढीदेखि दुधौली, खुर्कोट, मरिण र महादेवस्थानसम्मका बजार क्षेत्रका कयौँ घरेलु व्यवसायी महिलाहरूले श्रृंगार सामग्री बिक्री गरी आफ्नो आम्दानी बढाइरहेका छन् । बजारमा हरियो र पहेँलो चुरा, हातको मेहेन्दी र पोतेको किनबेच यति बढेको छ कि कतिपय पसलहरूमा सामान नै अभाव हुन थालेको छ ।

दुधौलीकी २८ वर्षीया अनिता दनुवारले आफ्नो घरको आँगनमा सुरु गरेको सानो “श्रृंगार कियोस्क“ अहिले साउन महिनामा दैनिक ३–४ हजार रुपैयाँको व्यापार गरिरहेको बताउनुहुन्छ । “अघिल्लो वर्षको अनुभवले यसपालि समयमै तयारी गरें, अहिले त पसलमै बस्न फुर्सद छैन,” उहाँले भन्नुभयो ।त्यस्तै, सिन्धुलीमाढीमा १५ वर्षदेखि कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी रोजिना श्रेष्ठले भन्नुभयो, “महिलाहरूले केवल श्रृंगारका लागि होइन, परम्परागत मान्यता र धार्मिक आस्थाका आधारमा पनि यी वस्तुहरू किन्ने गरेका छन् । यो चलनले हाम्रो व्यवसायलाई बाँचाइरहेको छ ।”

साउनमा हरियो चुरा र मेहेन्दी लगाउनु शुभ मानिन्छ । खासगरी सौभाग्यका लागि भगवान शिवको आराधना गर्ने व्रतालु महिलाहरूका लागि हरियो श्रृंगार अनिवार्यजस्तै बनिसकेको छ । स्थानीय व्यापारीहरूको भनाइ छ, “साउन मात्र होइन, तीजको लहर चल्न थालेपछि अझै दुई महिना यस्ता व्यापारमा उछाल आउने अपेक्षा गरिएको छ ।”

सामाजिक सञ्जाल र डिजिटल माध्यमले पनि ग्रामीण महिलाहरूको श्रृंगारको रोजाइ र बजार समेट्न मद्दत पु¥याएको छ । कतिपय व्यापारीहरूले मोबाइल एप र फेसबुकमार्फत पनि अर्डर लिने गरेका छन् ।

तीर्थयात्रीको चहलपहल

साउन महिनासँगै बोलबम यात्रा सुरु भएको छ । भारतीय तिर्थयात्रीहरूसमेत शिवालय, सुनकोशी र मदन भण्डारी मार्ग हुँदै सिन्धुलीका शिव मन्दिरहरूमा पुग्न थालेका छन् । पहेलो वस्त्र र ‘बोलबम’को नारा लगाउँदै मोटरसाइकल र ट्र्याक्टरमा सवार तिर्थयात्रीले सडकमा विशेष माहोल बनाएका छन् ।

प्रतिक्रिया