शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मन्त्री सुकमाया तामाङको कार्यसम्पादन कमजोर

शुक्रवार , श्रावण ९, २०८२

मकवानपुर, – बागमती प्रदेश सरकारको एक वर्षे कार्यसम्पादन मूल्याङ्कनमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको काम प्रभावकारी नदेखिएको निष्कर्ष निकालिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा गरिएको मूल्यांकनका क्रममा मन्त्री तामाङको सक्रियता देखिए पनि योजनाको कार्यान्वयन र परिणाम सन्तोषजनक नभएको सचिवालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री लामाले विगत वर्ष साउन ९ गते पदभार ग्रहण गरेपछि भदौ ५ मा सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । सम्झौताअनुसार कामको समयसीमा, कार्यान्वयन प्रक्रिया र कानुनी आधार तय गरिए पनि अधिकांश मन्त्रालयहरूले लक्ष्यअनुसारको उपलब्धि दिन नसकेको बताइएको छ ।

मन्त्री तामाङको मन्त्रालयअन्तर्गतका उद्योग ग्राम योजना समयमै पूरा नहुँदै नयाँ योजना बजेटमा समावेश गरिएको छ । तर पुराना योजनाहरू अलपत्र परेको अवस्थामा नयाँ योजना थपिनुले कार्यसम्पादनमा प्रश्न उठाएको छ । त्यस्तै, राजस्व संकलन, कर प्रणाली सुधार र विकास योजनाको कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति नभएको बताइएको छ ।

मुख्यमन्त्रीको ग्रेडिङ अनुसार कानुन मन्त्रालय उत्कृष्ट देखिएको छ भने भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य, युवा तथा खेलकुद मन्त्रालय अपेक्षाकृत राम्रो सूचीमा परेका छन् । तर उद्योग, कृषि, संस्कृति तथा पर्यटन, सहकारी मन्त्रालय कमजोर कार्यसम्पादन सूचीमा सूचीकृत छन् ।

विशेष गरी संस्कृति तथा पर्यटन मन्त्रालय सबैभन्दा कमजोर देखिएको बताइए पनि तामाङको मन्त्रालयले समेत जनताले अनुभूत गर्न सक्ने ठोस उपलब्धि दिन नसकेको स्पष्ट गरिएको छ ।

मुख्यमन्त्री लामाले, “मन्त्रीहरूको सक्रियता भए पनि परिणाममूलक कार्य गर्न नसक्दा समग्र विकास प्रभावित भएको छ,” भन्दै आगामी दिनमा परिणाममुखी कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया