शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मानव तस्करी आरोपमा सिन्धुलीको एकजना पक्राउ

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ – भारतमा आकर्षक तलब र सुविधाको लोभ देखाई नेपाली युवालाई अनलाइन ठगी मा संलग्न गराउँदै बन्धक बनाएर शारीरिक तथा मानसिक शोषण गर्ने गिरोहका दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भई भक्तपुर लोकन्थली बस्ने २४ वर्षीय राजकुमार अच्छामी रे सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भई पर्सा वीरगंज बस्ने ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं बल्खुबाट र रेशम बहादुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई भारतमा चालकको काममा लगाई दिन्छुभनि प्रलोभन देखाई २०८२ वैशाख १९ गते बिहान काठमाडौं बल्खुबाट पर्सा वीरगंज पुर्‍याई वीरगंजमा रेशम बहादुरले रिसिभ गरी थप प्रलोभनमा पारी भारतको रक्सौल हुँदै पटना पु¥याएको खुल्न आएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाईनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार भारतीय रूपैयाँ तिर्न लगाई तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको, फेसबुक मेसेन्जरमा अन्य मानिसहरूसँग समेत नयाँ आईडि बनाई कुरा गर्न लगाई विभिन्न प्रलोभनमा पारी भारत बोलाई अनलाईन स्क्यामिङको काम गर्न बाध्य बनाएर २ लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागज समेत गरी करिब २ महिना सम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । अन्ततः उनी यही साउन १ गते नेपाल फर्किएका थिए ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

उक्त कम्पनीमा बन्धक बनाइएका नेपालीहरुलाई घर–परिवारसँग सम्पर्क गर्न दिइएन, खाना तथा बस्नको राम्रो व्यवस्था थिएन। त्यसमाथि डर, त्रास, धाक–धम्की देखाई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अन्य मानिसहरुसँग बोल्न, विश्वास जित्न र प्रलोभनमा पारेर भारत बोलाउन लगाइन्थ्यो ।

ब्युरोका एक उच्च प्रहरी अधिकृतका अनुसार, “यस घटनाले विदेशी रोजगारको प्रलोभन देखाई नेपाली युवाहरुलाई डिजिटल अपराधमा जबरजस्ती संलग्न गराउने नयाँ शैलीको मानव तस्करीको संकेत गरेको छ ।”

प्रतिक्रिया