सिन्धुली, – सिन्धुलीको सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा (दाहाल), वडा नं. २ का वडाध्यक्ष जीवन बुर्जा र वडा नं. ५ का वडाध्यक्ष सुरथ बसेलको थाइल्याण्ड भ्रमण विवादको विषय बनेको छ । बाल विकास केन्द्रका १२ जना शिक्षिका र शिक्षा अधिकृतसहित तालिमको समापन कार्यक्रममा सहभागी हुन जानुभएका यि जनप्रतिनिधिहरूमाथि पारदर्शिता र प्रक्रिया नअपनाएको आरोप लागेको हो ।
वडा नं. ३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले सामाजिक सञ्जालमार्फत गाउँ कार्यपालिकाको कुनै निर्णयबिना अध्यक्षसहितका जनप्रतिनिधिहरू थाइल्याण्ड गएका स्पष्ट पार्नुभएको छ । “यो भ्रमण नितान्त उहाँहरूको व्यक्तिगत हो । कार्यपालिका बैठक, शिक्षा समिति वा कुनै आधिकारिक छलफलबिना गरिएको भ्रमणमा गाउँपालिका कार्यपालिकालाई नजोड्न अनुरोध गर्दछु,” श्रेष्ठले लेख्नुभएको छ ।
वडाध्यक्ष श्रेष्ठले थप जानकारी दिँदै आर्थिक वर्ष २०८१/८२ मा १५ लाख विनियोजन भए पनि चालु आर्थिक वर्ष २०८२/८३ मा कुनै बजेट विनियोजन नभएको बताउनुभयो । उहाँले गाउँपालिकामा कुनै बैठक नबसेको, तालिममा सहभागी हुनेको सूची तय नभएको र स्वीकृति नदिइ भ्रमण गरिएको स्पष्ट पार्नुभयो ।
यसबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने धमाका फाउण्डेशनको समन्वयमा यो भ्रमण भइरहेको र उक्त संस्थाले शिक्षिका टोलीका लागि भिसा पठाएर प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “शिक्षा समितिमा प्रतिनिधिमूलक सहभागिता तय गरिएको थियो । अहिले जाने बेला कार्यपालिका बैठक बसेन, फर्केपछि स्वीकृति दिनेछौं,” दर्जीले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार अध्यक्षसहित प्रतिनिधिहरू धमाका फाउण्डेशनको निमन्त्रणामा गएका हुन् र खर्च पनि फाउण्डेशन र पालिकाबाट साझा रूपमा व्यहोर्ने सहमति भएको छ । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि निमन्त्रणा गरिएको भए पनि व्यक्तिगत कारणले उनीहरू नगएका हुन् ।
तर विषयको संवेदनशीलता र विधिप्रति देखिएको उदासीनताले गाउँपालिकाभित्रको निर्णय प्रक्रिया, पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीय तहमा जनप्रतिनिधिको विदेश भ्रमणमा स्पष्ट मापदण्ड र प्रक्रियाको आवश्यकताको आवाजसमेत उठ्न थालेको छ ।