शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली अस्पतालमा अल्झिएको जीवन र न्यायको प्रतीक्षा

सोमवार , श्रावण ५, २०८२

सिन्धुली – सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ पछिल्लो १४ महिनादेखि एउटा नाममा गाढिएको छ,तेजबहादुर सिञ्जाली मगर । उहाँ बोल्नुहुन्न्, हिँड्नुहुन्न । तर, त्यो बेड अझै दिनहुँ हेरचाह, आँसु, ऋण र भरोसाको साक्षी बन्दै आइरहनुभएको छ ।

तेजबहादुर, तीनपाटन गाउँपालिका–११ निवासी, अहिले २८ महिनादेखि कोमामा हुनुहुन्छ । दुर्घटनाको दिन उहाँ कमलामाईबाट मोटरसाइकलमा घरतर्फ जाँदै हुनुहुन्थ्यो । तर तीनपाटन–२, गैरी भन्ने स्थानमा बा.प्र.०१–०२ च ४३७२ नम्बरको बोलेरोले उहाँको मोटरसाइकललाई ठक्कर दियो । बोलेरो चालक हुनुहुन्थ्यो शेषराज पहाडी । त्यस घडीपछि तेजबहादुरले कहिल्यै आँखा खोल्नुभएको छैन् ।

दुर्घटनापछि उहाँलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौँस्थित हेम्स अस्पताल लगियो । १० दिनमै १२ लाखभन्दा बढी खर्चिएपछि उहाँलाई महाराजगञ्जको शिक्षण अस्पतालमा सारियो । तर, उपचार खर्चको भार थेग्न नसक्ने भएपछि परिवार उहाँलाई सिन्धुली अस्पताल ल्याएर भर्ना गर्न बाध्य भयो ।

१४ महिनादेखि उहाँ सिन्धुली अस्पतालकै ३३ नम्बर बेडमा अचेत अवस्थामा हुनुहुन्छ । र, त्यो बेडसँगै बस्नुहुन्छ उहाँकी जीवन संगिनी बिमला रमौली ।

“हरेक दिन १५ सयदेखि २ हजार रुपैयाँको औषधि लाग्छ । सबै बेच्दै गयो, अब केही बाँकी छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार श्रीमानको उपचारमा अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । आफन्त, चिनजान र गाउँलेबाट लिएको ऋणको ब्याज पनि अब चर्किंदै गएको छ ।

२० लाख दिने सहमति, पाँच लाखमै रोकिन पुग्यो

दुर्घटनापछि गाडी चालक तथा गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा तेजबहादुरको उपचारका लागि २० लाख रुपैयाँ दिने कागजी सहमति गर्नुभएको थियो । चार महिनामा तिर्ने भनी गरिएको सहमतिअनुसार हालसम्म केवल ५ लाख रुपैयाँ मात्र दिइएको छ ।

“एक वर्ष भइसक्यो, बाँकी १५ लाख अझै पाइएन,” बिमलाको पीडा पोख्नुहुन्छ । “कागज भए पनि प्रहरीले पनि चासो दिएको छैन । प्रशासन न तटस्थ देखिन्छ, नैतिक।”

तेजबहादुर बेहोस हुनुहुन्छ, तर बिमलाको आँखा भरी आँशु, छातीभरी आशा र निधारभरी चिन्ता छ । उहाँले भन्नुभयो, “अब औषधि मात्र होइन, श्रीमानलाई खाना खुवाउन पनि सक्ने अवस्था छैन । हामी हार मान्न सक्दैनौं, तर अब भन्नुपर्छ—सहयोग बिना बाँच्न गाह्रो भइसक्यो ।”

न्यायको आशामा परिवार, जिम्मेवारीबाट पछि हट्दै राज्य 

बिमलाले राज्य, प्रशासन, संघसंस्था र मनकारी व्यक्तिहरूलाई श्रीमानको उपचारका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । तर यो पीडा केवल सहयोग मागेर समाधान हुने होइन । दुर्घटनामा दोषी ठहरिएकालाई कानुनी दायित्वबमोजिम बाँकी रकम तत्काल तिराउने प्रशासनको कर्तव्य हो ।

तेजबहादुर अहिले पनि बेहोस अवस्थामा हुनुहुन्छ् । तर त्यो बेड नम्बर ३३ मा हरेक दिन श्रीमती बिमलाको आँखा खुलेको हुन्छ, जसले राज्य, समाज र हामी सबैसँग एउटा मात्रै प्रश्न गर्नुहुन्छ, “कहिले न्याय पाइन्छ ?”

प्रतिक्रिया