शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली सवारी दुर्घटनाको ‘हटस्पट’ बन्दै

सोमवार , श्रावण ५, २०८२

सिन्धुली, — पछिल्लो समय विभिन्न राष्ट्रिय राजमार्गहरूको जालो बनिरहेको सिन्धुली जिल्ला सवारी दुर्घटनाको ‘हटस्पट’ बन्दै गएको छ । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गजस्ता ठूला मार्गहरू सिधा जोडिएको सिन्धुलीमा सवारी दुर्घटनाको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०८१ सालको साउनदेखि हालसम्म (एक वर्षको अवधिमा) जिल्लाभित्र २ सय ५ वटा सवारी दुर्घटनाका घटनाहरू दर्ता भएका छन् । ती दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने ५ सय २१ जना घाइते भएका छन् ।

सबैभन्दा धेरै दुर्घटना बिपी राजमार्गमा भएको छ । प्रहरीको तथ्यांकअनुसार बिपी राजमार्गमा ८२ वटा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ र २ सय २३ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्गमा ७८ दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने २ सय ८ जना घाइते भएका छन् । पुष्पलाल मध्यपहाडी राजमार्गमा ७ दुर्घटनामा १ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। त्यस्तै, भित्री सडकमा ३८ दुर्घटना हुँदा ४ जनाको मृत्यु र ७४ जना घाइते भएका छन् ।

दुर्घटनाको मुख्य कारणहरू

स्थानीयवासीका अनुसार दुर्घटनाको प्रमुख कारणहरूमा साँघुरो र घुमाउरो सडक, तीव्र गति, ट्राफिक चिन्हको अभाव वा मर्मत नहुनु, जनचेतनाको कमी, चालकको लापरबाही र जोखिमपूर्ण भौगोलिक बनावट रहेका छन्। विशेषगरी राजमार्गहरू ग्रामीण क्षेत्रमा भएकाले स्थानीयले सडक पार गर्दा सतर्कता नअपनाउनु, सडकमा अन्न सुकाउनेजस्ता कार्यले पनि दुर्घटनालाई निम्त्याएको छ ।

दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाका अनुसार सडकको पिच राम्रो भए पनि अत्यधिक गति र अनियन्त्रित मोडका कारण दुर्घटना भैरहेका छन् । उहाँले भन्नुभयो, “पूर्व–पश्चिम यातायात चल्ने प्रमुख मार्ग बनेपछि ठूला गाडी र टिपरहरूको चाप पनि उल्लेख्यरूपमा बढेको छ ।”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ, जनचेतना अभियान, टाइम कार्ड प्रणाली, ट्राफिक होर्डिङ बोर्डलगायतका कार्यहरू गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार ट्राफिक जनशक्तिको अभावबीच पनि सम्भव भएसम्म चेकजाँच र जनचेतनाको कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

“सडक सुरक्षाका चिन्हहरू मर्मत गर्न ढिला हुँदा राति यात्रा जोखिमपूर्ण भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताउनुभयो । उहाँले विशेष गरी सिन्धुलीगढी देखी खनियाखर्क क्षेत्रजस्ता हुस्सु लाग्ने क्षेत्रमा दिउँसो समेत दुर्घटना हुने सम्भावना बढी भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो ।

अबको चुनौती

राजमार्गहरूको सञ्जालसँगै सिन्धुली सशक्त यातायात मार्गको केन्द्र बन्दै जाँदा सडक सुरक्षाको चुनौती पनि उत्तिकै बढ्दो छ । यस्तो अवस्थामा सडक सुरक्षासम्बन्धी पूर्वाधारको मर्मत, ट्राफिक जनशक्तिको वृद्धि, जनचेतनाको विस्तार र चालकहरूमा जिम्मेवारी भावना अभिवृद्धि गर्नु आजको आवश्यकता बनेको छ ।

प्रतिक्रिया