सिन्धुली,०५ साउन– सिन्धुलीमा आइतवार वेवारिसे शव फेला परेको छ । जिल्लाको दुधौली नगरपालिका वडा नं. २ गागनबजार नाम,थर,वतन नखुलेको अंन्दाजी . ५५/६० वर्षको भारतीय मुलको जस्तो देखिने पुरुषको वेवारिसे लास फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतकको साथमा पहिचान खुल्ने कागजात केही नभएको, शव मुचुल्का पश्चात पोष्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याई राखिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले मृतकको शारीरिक बनावट र पोशाकका आधारमा उनी भारतबाट दुधौली नगरपालिका–२ लंगुरखोलास्थित मधुगंगा महादेव मन्दिर दर्शन गर्न गर्न आएका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।
“मृतकको नाम, वतन तथा पहिचान नखुलेकोले आफन्तसम्म जानकारी पुगोस् भनी समाचार प्रकाशन तथा सेयर गर्न आग्रह गरेका छौ । शवको पहिचानका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ, यदि कसैले चिनेमा तुरुन्त जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सम्पर्क गरिदिनुहोला,” सुवेदीले भन्नुभयो । पोष्टमार्टमपछि मात्र मृत्युको कारणबारे थप स्पष्टता आउने र त्यसपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।