सिन्धुली — बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लामा पछिल्लो समय चौध वटा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । यी पुलहरूको निर्माणले विशेष गरी ग्रामीण भेगका बासिन्दालाई वर्षभर सहज रूपमा यातायात सेवा लिन सक्ने अवसर प्रदान गरेको छ ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै चार वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । ती पुलहरूमा कमलामाई नगरपालिका–२ स्थित ग्वाङखोला पुल (चियाबारी), घ्याङ्लेख गाउँपालिका–२ स्थित ठाडीखोला पुल, सुनकोशी गाउँपालिका–५ स्थित सातबिसे भोटेखोला पुल र कमलामाई नगरपालिका–४ स्थित कुमालफाँट ग्वाङखोला पुल रहेका छन् । यी पुलहरूको निर्माणसँगै यातायातको सहज पहुँच सुनिश्चित भएको छ ।
कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार यी चारै पुलहरू ठेक्का सम्झौता भई तोकिएको म्यादभन्दा अघिनै निर्माण सम्पन्न भएका हुन् । साथै, अन्य दुईवटा पुल – घ्याङ्लेख गाउँपालिका–३ स्थित तामाजोर खोला र सुनकोशी गाउँपालिका–६ स्थित आरुबोटे खोला पुल – पनि अन्तिम चरणमा पुगेर सञ्चालनमा आइइसकेका छन् । सापकोटाले भन्नुभयो, “ग्रामीण सडक सञ्जालमा पुल निर्माणसँगै वर्षभर सवारी आवागमन सम्भव बनेको छ, जुन अघिसम्म हिउँदमा मात्र सन्चालन हुन्थ्यो ।”
गत आव २०८१÷८२ मा ठेक्का लागी सम्पन्न भएका पक्की पुलमध्ये कमलामाई नगरपालिका–२, चियाबारीस्थित ग्वाङखोला पुल तीन करोड ९० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । यो पुल २०८१ साल असार २ गते सिद्धकाली÷जीवन जेभीले सम्झौता गरी निर्माण सम्पन्न गरेको हो । त्यस्तै घ्याङ्लेख गाउँपालिका–२ स्थित ठाडीखोला पक्की पुल सिर्जना निर्माण सेवाले २०८१ जेठ १४ गते सम्झौता गरी करिब छ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै सुनकोशी गाउँपालिका–५ स्थित सातबिसे भोटेखोला पुल जीवन÷दाहाल÷जयगोरख जेभीले गत वर्ष असारमा सम्झौता गरी तीन करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको हो । कमलामाई नगरपालिका–४, कुमालफाँट जोड्ने ग्वाङला पुल जीवन÷दाहाल जेभीले गत वर्ष असारमा नै सम्झौता गरी तीन करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको जनाएको छ ।
यस अघिनै १० वटा कमलामाई नगरपालिकाका मधुटार, कारागार क्षेत्र, भिमान कमला नदी, लुंगेलीटार, गडौली, हरिहरपुरगढी–७ को क्यानखोला, दुधौलीको फेदी कुमराह, तीनपाटनको लंगुरखोला, फिक्कलको बाक्सुखोला र सुनकोशीको धोबीखोला लगायतका स्थानमा समेत पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
हाल हरिहरपुरगढी–२/४ को मरिण खोला, सुनकोशी–६ को आरुबोटे खोला, गोलन्जोरको बारा–घोक्सिला, र घ्याङ्लेख–३ को तामाजोर खोला पुल निर्माणाधीन अवस्थामा छन् । यस्तै बहुवर्षीय प्रक्रिया अनुसार दुधौलीको ठाकुर खोला, फिक्कलको पौती खोला र कमलामाई–१३ को सुनखानी–मडाहा कमलाखोला पुलमा नयाँ ठेक्का लागिसकेको छ ।
अझै केही स्थानहरूमा पक्की पुलको आवश्यकता रहे पनि स्रोत सुनिश्चित नभएका कारण ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । तीमध्ये हरिहरपुरगढी–५ को चारखोला, कमलामाई–८ को करकरे सिन्दुरेटार, फिक्कल–१ को सिदालीखोला, दुधौली–५ को रानी खोला र हरिहरपुरगढीको तीनकुना पुल रहेका छन् ।
सिन्धुली जिल्लामा पुल निर्माणसँगै ग्रामीण क्षेत्रको समग्र यातायात, व्यापार, स्वास्थ्य सेवा, र आपतकालीन पहुँचमा उल्लेखनीय सुधार आएको छ । बागमती प्रदेश सरकारको आर्थिक साझेदारी र स्थानीय तहहरूको सक्रियताले आगामी दिनहरूमा अझ बढी पुलहरू निर्माण हुने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार यदि बजेटको सुनिश्चितता निरन्तर रह्यो भने भौतिक विकासले अझ गति लिनेछ । पुल निर्माणमार्फत मात्रै होइन, ग्रामीण जीवनशैली परिवर्तनमार्फत पनि यो प्रक्रिया सिन्धुलीको भविष्य उज्यालो बनाउने बाटोमा अग्रसर देखिएको छ ।