शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली तीनवटा दमकलकै भरमा, सात पालिकामा अझै दमकल छैनन

आइतवार , श्रावण ४, २०८२

सिन्धुली,०४साउन — विपद् व्यवस्थापन र नागरिक सुरक्षामा स्थानीय सरकारहरू अग्रसर हुनु पर्ने समयमै सिन्धुली जिल्ला भने अझै पनि आधारभूत साधन–स्रोतको चरम अभावमा छ । आगलागीजस्तो अचानक आइपर्ने जोखिमबाट नागरिकको जीवनरक्षा गर्नुपर्ने समयमा पनि जिल्लाको नौँ वटा स्थानीय तहमध्ये केवल दुई पालिकामा मात्र दमकल रहेका छन्, जसले गर्दा आगो नियन्त्रणमा गम्भीर समस्या आइरहेको छ ।

सिन्धुलीमा कमलामाई नगरपालिकामा दुईवटा र दुधौली नगरपालिकामा एउटा दमकल छन् । तीमध्ये एक कमलामाई नगरपालिकाले आफैं खरिद गरेको र अर्को सिन्धुली उद्योग वाणिज्य संघले खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । दुधौली नगरपालिकाले भने आफ्नो पहलमा एउटा दमकल सञ्चालनमा ल्याएको छ । बाँकी रहेका सात गाउँपालिकाहरू, मरिण, फिक्कल, हरिहरपुरगढी, तिनपाटन, घ्याङलेख, सुनकोशी र गोलन्जोर गाउँपालिकाहरूमा दमकलको नाममा अहिले पनि शून्य छ ।

सिन्धुली जस्तो भौगोलिकरूपमा फैलिएको र ग्रामीण बस्तीहरू धेरै भएको जिल्लामा आगलागीका घटना बेलाबेला हुने गर्दछन् । तर यस्तो संवेदनशील अवस्थाबीच तीनवटा दमकलकै भरमा जिल्ला चलिरहेको छ । एउटा पालिकाबाट अर्को पालिकामा दमकल पठाउँदा समयमै घटनास्थलमा पुग्न सकिँदैन, जसका कारण आगलागी नियन्त्रणमा चुनौती थपिने गरेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले भन्नुभयो, “ठूला आगलागीका बेला अरू पालिकाले समेत हाम्रो दमकल प्रयोग गर्ने गरेका छन् । हाम्रो क्षमताभन्दा बाहिरको भार आइपर्दा समयमा दमकल नपुगी जनधनमा ठूलो क्षति पुग्ने खतरा रहन्छ ।”

सामान्य आगलागी हुँदा जिल्लाका प्रहरीहरूले नै बाल्टिन, ट्यांकी र स्थानीयको सहयोगमा आगो निभाउने गरेका छन् । तर ठूला आगलागीमा दमकल नै नभएपछि प्रहरीले पनि क्षमताले भ्याउनेभन्दा बाहिरको प्रयास गर्नु पर्ने बाध्यता हुन्छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पछिल्लो केही वर्षमा आगलागीबाट करोडौं रुपैयाँ बराबरको जनधनको क्षति भइसकेको छ । यस्ता घटनाहरूमा दमकल ढिलो पुग्दा वा समयमै नपुग्दा नियन्त्रण गर्न सकिने अवस्था पनि नियन्त्रणबाहिर जानपुगेको बताइन्छ ।

स्थानीय सरकार सञ्चालन ऐनको अवहेलना

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा हरेक पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण विशेषगरी दमकलराख्नुपर्ने प्रावधान स्पष्ट रूपमा उल्लेख छ । तर ऐन कार्यान्वयनमा ल्याएको सात वर्ष बितिसक्दा पनि सात पालिकाले अहिलेसम्म दमकलको व्यवस्था नगर्नु गम्भीर लापरबाहीको विषय बनेको छ ।

मरिण गाउँपालिका–१ का स्थानीय बासिन्दा बिरबहादुर वाइवा भन्नुहुन्छ, “केही महिना अघि हाम्रो वडामा एउटा घरमा आगो लाग्दा दमकल आउन झण्डै एक घण्टा लाग्यो। त्यतिन्जेलमा चार घर पूर्णरूपमा जलेर नष्ट भइसकेका थिए । पालिकामा दमकल भएको भए सायद त्यो क्षति हुँदैनथ्यो ।”

एकातर्फ पालिकाका जनप्रतिनिधिहरू सुविधायुक्त गाडीमा चढिरहेका छन् भने अर्कातर्फ जनताको ज्यान बचाउने आधारभूत साधनहरूप्रति वेवास्ता गर्दै आएका छन् । करोडौं रुपैयाँ बजेट खर्च गर्ने क्षमता भएका पालिकाहरूले जनताको जीवनसँग जोडिएको यति महत्वपूर्ण विषयलाई प्राथमिकतामा नराख्नु गम्भीर प्रश्नको विषय बनेको छ ।

के अब पनि ढिलो गर्ने ?

विपद् र दुर्घटनाका बेलामा केही मिनेटको ढिलाइले ज्यान गुम्न सक्छ, वर्षौंको पसिना बर्बाद हुन सक्छ । यस्ता घटनालाई समयमै नियन्त्रण गर्न दमकलजस्ता उपकरण अपरिहार्य हुन्छन् । त्यसैले, अब पालिकाहरूले दमकलको आवश्यकता बुझ्दै तत्काल बजेट विनियोजन गरी दमकल खरिद गर्न अग्रसर हुनु आवश्यक छ ।

सिन्धुलीका बाँकी सात पालिकाले पनि दमकल खरिद गरी आफ्नो पालिकामा स्थायी रूपमा तयारी अवस्थामा राखे मात्रै आगलागीबाट हुने ठूलो क्षति नियन्त्रण गर्न सकिनेछ । जनप्रतिनिधिहरूको प्राथमिकता सुविधा होइन, जनताको सुरक्षा हुनुपर्छ भन्ने चेतना अब स्थानीय सरकारहरूमा देखिन आवश्यक छ ।

प्रतिक्रिया