शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बुद्धचित्त चोरेपछि सिन्धुलीका युवा पक्राउ

आइतवार , श्रावण ४, २०८२

काठमाडौँ – बुद्धचित्त (बोधिचित्त) को दाना चोरी गर्ने समूहले ललितपुरमा एक जनामाथि खुकुरी प्रहार गरेका छन् । शनिवार राति सवा २ बजेतिर गोदावरी नगरपालिका वडा नम्बर ७ गुरूङचुले गैरीडोली भन्ने ठाउँमा रहेको बुद्धचित्त टिप्न एउटा समूह पुगेको थियो ।

उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्न थालेका थिए । तर कुकुर भुकेपछि घरधनी कृष्णबहादुर मार्फाले घरबाहिर निस्किए । त्यसपछि उक्त समूहले घरधनी मार्फमाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बुद्धचित्तको दाना चोरी गर्ने समूहले सिसिटिभीको तार काटेर घरधनीमाथि खुकुरी प्रहार गरेका थिए । “त्यो समूहले बुद्धचित्त धनीको दायाँ हातमा खुकुरी प्रहार गरेका छन्, चोट लागेको छ। उहाँलाई अस्पताल लगिएको छ,” उहाँले भन्नुभयो, “घरधनीलाई खुकुरी हानेपछि उनीहरू बुद्धचित्तको दाना लिएर भागेछन् ।”

घाइते मार्फाको उपचारको लागि आनन्दवन अस्पतालमा लगिएको थियो । उनको हातमा पाँच वटा टाँका लगाइएको छ । उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घटनापछि खोजी गर्नेक्रममा आइतबार बिहान ५ बजेतिर प्रहरी वृत्त चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

उनीहरूबाट प्रहरीले ९९ वटा बुद्धचित्तको काँचो दाना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि समेत देखिएको छ।

यसअघि प्रतिमान गोले बाइक चोरीमा संलग्न रहेको देखिएको थियो । त्यस्तै बुद्ध सुनको चेन लुटपाटमा संलग्न रहेको देखिएको हो ।

प्रहरी वृत्त चापागाउँले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत असारमा काभ्रेको बनेपामा पनि बुद्धचित्त चोरी भएको थियो । बुद्धचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका थिए । तर चोरी भएका बुद्धचित्त फेला परेको थिएन । उक्त घरबाट ८ लाख बराबरको चोरी भएको दाबी गरिएको थियो ।

त्यसअघि २०८० चैतमा काभ्रेको रोशी गाउँपालिका ५ नागबेनीमा पनि बन्दुकधारी समूहले बुद्धचित्तको रूख नै ढालेर चोरी गरेका थिए ।

 

प्रतिक्रिया