शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्ग अवरुद्ध हुँदा बिरामील एम्बुलेन्समै गुमाए ज्यान

मंगलवार , आषाढ १७, २०८२

काभ्रेपलाञ्चोक – सोमबार दिउँसो बीपी राजमार्गमा भएको अवरोधका कारण एम्बुलेन्समा काठमाडौं आउँदै गरेका एक बिरामीको बाटोमै मृत्यु भएको छ । ‘ब्रेन ह्यामरेज’ भएर जनकपुरबाट काठमाडौं ल्याउँदै क्रममा महोत्तरीको मनराशिसवा नगरपालिका २ का भरतलाल झाको बाटोमै निधन भएको हो ।

सडक माथिबाट आएको लेदोको कारण सोमबार दिउँसो बीपी राजमार्गस्थित रोशी गाउँपालिका–९ नार्केमा साँझ ५ बजेदेखि सडक अवरुद्ध भएको थियो । सो क्रममा ४ वटा एम्बुलेन्स रोकिएका थिए । तीमध्ये एउटा एम्बुलेन्समा रहेका झाले ज्यान गुमाउनुभएको हो ।

अवरुद्ध सडकमा एम्बुलेन्स समेत सञ्चालनमा आउन सकेको थिएन । एउटा एम्बुलेन्समा बिरामी हलचल नभएपछि भकुण्डेमा रहेको प्रादेशिक अस्पताल मेथिनकोटमा लगिएको थियो । तर, अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन् ।

मेथिनकोट अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाले अस्पताल आउँदा भरतलालको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

“जाममा परेर मृत्यु भएको हो की होइन त्यो हामीलाई थाहा हुने कुरा भएन,” डा. झाले भन्नुभयो, “तर अस्पताल ल्याउँदा बिरामीको बाटोमै मृत्यु भइसकेको थियो ।”

बिरामीका आफन्तले सास नचलेपछि मेथिनकोट अस्पताल पु¥याएका थिए । सोही नगरपालिकाका मेयर मोहन पाण्डेका अनुसार, मृतकको शव अहिले महोत्तरीतर्फ नै फर्काइएको छ ।

बीपी राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिक्रिया