सिन्धुली, – सिन्धुली जिल्लामा पछिल्लो समयमा अन्नभण्डार रित्तिदै गएको छ । जिल्लाको सदरमुकाम लगायत गाँउपालिकाको केन्द्र भएको ठाँउमा खेती योग्य जमिनलाई टुक्रापारी घडेरीको रुपमा बिक्री गर्ने क्रम बढ्दै गएपछि अन्नभण्डार रित्तिदै गएको स्थानीयले बताएका छन् । खेती योग्य जमिनलाई बढ्दो रुपमा घडेरीको रुपमा बिक्री गर्न थालिएपछि परनिर्भरता बढेको पाईन्छ ।
स्थानीयका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित फाँटको खेतमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । तर, जब सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कङक्रिटका घरले भरिन थालेका छन् ।
जिल्लाको अन्न भण्डार र प्रांगारिक खेतीको गाउँका रूपमा परिचित फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङक्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । कमलामाई नगरपालिका–४ किसान नारायण थापाले भन्नुभयो, “बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नवालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यन्नमा निर्भर रहनुपरेको छ ।”
“सदरमुकाम सिन्धुलीमाढीको प्रकृतिक सुन्दरताको रुपमा रहेको फाँटको खेत मासिदै जाँदा सदरमुकामको उक्त सौन्दर्य नै गुमेको छ,” उहाँले भन्नुभयो, “दिनदिनै फाँटको खेत घडेरीका रुपमा प्लानिङ गरी बिक्री गर्ने क्रम बढेको छ । यसले तत्काल जग्गाधनीलाई त राम्रै पैसा प्राप्त भई खुशी भएका होलान, तर प्राकृतिक प्रेमी मानिसहरु भने सदरमुकामको सौन्दर्य गुमेकोमा चिन्तित छन् ।”
सडक, बिजुली, खानेपानी लगायतको पुर्वाधार पुगेको गाँउपालिकाको केन्द्र रहेको र आसपासका ठाँउ पनि पछिल्लो समय घडेरीको रुपमा बिक्री भई धमाधम घर बनि रहेको मरिण गाँउपालिकाका वडा बुढाथोकीले बताउनुभयो । गाँउपालिकाको केन्द्र रहेको ठाँउ पछिल्लो समय सहरमा परिणत हुन लागेको समेत उहाँको भनाई छ । स्थानीयका अनुसार जिल्ला सदरमुकामस्थित फाँटको खेतमा अहिले तीब्र सहरीकरण भई रहेको छ । अघिल्लो पुस्ताले खेती गरेको जमिनमा अहिले पछिल्लो पुस्ताले प्लानिङ गरी घडेरीको रुपमा बिक्री गरी सुविधा खोज्दै सहर पलायन हुने क्रम बढेको छ । पछिल्लो समयमा खेत धनीहरु अन्य पेसामा लागेका र कृषि कार्य खर्चिलो बन्दै गएपछि पनि खेत घडेरीका रुपमा मासिने क्रम बढेको बताईएको छ ।
“एक दशक अघिसम्म ढुंग्रेबास कटेपछि घर भेट्न कित धुरा बजार नै पुग्नु पर्दथ्यो, कि त बजार नै,” ढुंग्रेबास बजार निवासी सन्तोस दाहाल भन्नुहुन्छ, “अहिले ढुंग्रेबास पुच्छारको ग्वाङखोला कट्ने बित्तिकै अनगिन्ती घर भेट्न पाईन्छ । घर पनि धमाधम बन्दै छन् ।”
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत मानिसले पाउने आधारभुत सुविधा धमाधम बढ्दै गएपछि ठूला सहर ताक्ने मानिसको रोजाईमा गाँउघर नै पर्न थालेको उहाँको बुझाई छ । फाँटमा घर बनाएर बसोबास गर्ने क्रम बढेपछि कमलामाई नगरपालिकालाई पनि सडक, खानेपानी, बिजुली, विद्यालय, ढल निकास लगायतको व्यवस्थापन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका बाताबरण शाखाका प्रमुख सागरकुमार ढकाल पनि फाँटमा तीब्र रुपमा बनेको कङक्रिट घरहरुले नगरको सौन्दर्य नै गुमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उर्बर जमिनलाई कंक्रिटमा परिणत गरेको, अव्यवस्थित तरिकाले घरहरु बनि रहेको र सरसफाईको व्यवस्थापन गर्न एक दमै गाह्रो भएको छ ।”