शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जनज्योति मा. वि.फोस्रेटार, सिन्धुलीमा दिवा खाजाको मेन्यु ‘अण्डा र मासु’

शनिवार , आषाढ ७, २०८२

सिन्धुली – सामुदायिक विद्यालयमा सरकारले कक्षा पाँचसम्म दिवा खाजाको व्यवस्था गरेको छ । असारसम्म (कर्णाली बाहेक) प्रति विद्यार्थी १५ रुपैयाँ र साउनदेखि २० रुपैयाँ हुँदैछ । नियमित विद्यार्थी आकर्षिक गर्न र पौष्टिक आहार पुर्‍ याउन सरकारले जुन उद्देश्यले दिवा खाजाको लागि लगानी गर्दै आएको छ त्यसको उद्देश्य २७ हजार दुई सय ९८ विद्यालय पुरा नगरेको पनि हुन सक्छ । दिवा खाजामा पत्रु खाना खुवाउने गरेको विषयले संसदमा समेत चर्चा पाएकै हो । दिवा खाजाको नाममा एक मुठी भुजा र चिउराले टार्ने स्कूल पनि छन् । अपवादमा परेको छ – सिन्धुलीको कमलामाई नगरपालिका – ५ फोस्रेटारको जनज्योति माध्यमिक विद्यालय ।

विद्यालयले कुन दिन खुवाउने तालिकै बनाएको छ । यही तालिकामा साताको अन्तिम दिन शुक्रबार विद्यार्थीलाई खुवाउने खाजाको मेनुमा अण्डा छ । अझ रोचक त के छ भने महिनामा एक पटक मासु चिउराको मेनु पनि छ । सरकारले उपलब्ध गराएको दिवा खाजाको रकम अपुग भएको भन्दै प्रश्न उठिरहेको बेला जनज्योतिले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै खाजाको मेनु बनाएर कार्यान्वयन समेत गर्दै आइरहेको छ ।

विद्यालयले दिवा खाजा व्यवस्थापन गर्न तीन सदस्सीय समिति गठन गरेको छ । पाँच कक्षासम्मका विद्यार्थीलाई संघीय सरकारको बजेटबाट र कक्षा ६ को लागि कमलामाई नगरपालिकाबाट दिवा खाजाको व्यवस्था गरेको छ । यो समितिले कुन दिन के खाजा खुवाउने तय गर्ने र गुणस्तर कायम गर्ने जिम्मेवारी पाएको छ । समितिले बनाएको मेनु अनुसार आइतबार दूध चिउरा, सोमबार चना चिउरा, मंगलबार जाउलो, बुधबार खिर, बिहीबार चिउरा तरकारी र शुक्रबार अण्डा छ । त्यस्तै महिनामा एक दिन मासु चिउरा खुवाउने अर्को मेनु पनि राखिएको छ । अर्ध बार्षिक रुपमा दिवा खाजा तालिका परिमार्जन हुने विद्यालयले जनाएको छ ।

“सरकारले उपलब्ध गराएकै पैसाले यो मेनुको खाजा खुवाउने गरेका छौँ” विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनककुमार ढकालले भन्नुभयो । विद्यार्थीलाई खाजा खुवाउन विद्यालयको आफ्नै चुल्हो छ । खाजा पकाउन छुट्टै कर्मचारी राखिएको छन् । ‘धेरै विद्यार्थीमा थोरै बजेटले पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ’ ढकाललेले भन्नुभयो ।

प्रतिक्रिया