सिन्धुली,६ असार – बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो । शुक्रबार सिन्धुलीको मुल्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे सो निर्णय गरेका हुन् ।
साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो । उहाँले काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङमै रोक्ने र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोक्ने व्यवस्था गरिएको बताउनुभयो । “बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पु¥याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,” प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँले निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि जानकारी दिनुभयो ।
यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन् ।