सिन्धुली – विकास आयोजनामा हुने लगानी नागरिकको हितमा हुनुपर्ने हो । तर बिडम्बना हामी विकासका नाममा हुने अपारदर्शी र गुणस्तरहिन कामलाई मान्यता दिँदै बजेट सक्ने चटारोमा बर्षेनी रोमलिरहेका छौं ।
बिकास आयोजनाहरु दीर्घकालसम्म टिक्ने गरी सर्वसाधारणले उपयोग गर्न पाउने गरी निर्माण हुन सक्दा मात्र राज्य ढुकुटीको सही प्रयोग हुन सक्छ । यसै पनि विकास निर्माणका निम्ति जुटाइएको रकम दुर्लभ छ । नागरिकले खाई–नखाई गरेर तिरेको कर, मुलुकले दातासँग हात थापेको सहायता र अनुदान आदिको उपयोग यस्ता विकास निर्माणका काममा हुन्छ ।
सडक नै विकासको पहिलो आधार भएकोले स्वाभाविक रूपमा यो क्षेत्रमा लगानी गर्न सबै तहका सरकारहरु लागीरहेकै छन । आफ्नो गाउँलाई जिल्ला सदरमुकाम सम्म जोड्न नागरिक आफै पनि तम्सिएर लागेको देखिन्छ । तर यो सुखद पक्ष धेरै समय टिक्न पाएको अवस्था छैन ।
हिउँदो याममा करोडौं खर्च गरेर खनिएका सडकहरु बर्षातको समय लाग्ने वित्तिकै पहिरोमा परिणत हुने गरेका छन । विकास आयोजनाहरुमा राज्यको लगानी करोडौं खर्च भएपनि त्यसको उपयोगिता प्रभावकारी हुन सकेको अवस्था देखिदैन ।
बिकासको नाममा आवश्यकता पहिचान नै नगरी इन्जिनियरिङ सर्वे र डिजाइन बिना जथाभावी डोजर अपरेटरको भरमा बाटो बनाउने काम भयो । जनताको मागको नाममा एउटै स्थानसम्म पुग्न राजनीतिक पार्टी अनुसारका छुट्टा—छुट्टै बाटो खन्ने काम समेत भएको हामीले देख्यौं ।
लोकतन्त्र पछि त झन विकासको नाममा सबैभन्दा सजिलो पैसा कमाउने धन्दा नै सडक निर्माण हुनपुग्यो । सडक विभाग र स्थानीय सरकारले त आफ्नो कार्यक्षेत्र नै भएकाले सडक बनाउने नै भए, तर एनजीओ, गरिबी निवारण कोष लगायतका धेरै निकायहरू सम्मले विकासको नाममा जिल्लाका धेरै सडकहरु निर्माणमा संलग्नता देखाए ।
राजनीतिक पार्टीका पैसावाल कार्यकर्ता ठेकेदार हुने र पैसा नभएकाहरू सडक उपभोक्ता समितिको अध्यक्ष बन्न मरिहत्ते गर्ने र अघिल्लो दिन कुनातिरको ढुंगा छेउतिर सार्ने तथा भोलिपल्ट त्यही ढुंगालाई अर्काेतिर राखेर परिमाण पु¥याइदिने र त्यही परिमाणको आधारमा विकास खर्च भएको प्रगति देखाई चेक काट्न पाउँदा खुसी हुने कर्मचारीको प्रवृत्तिका कारण झन् कहालि लाग्दो तरिकाले विकास बजेट दुरुपयोग भएको देखिन्छ ।
भन्नुको मतलब पहुँचमा सहजता ल्याउन तथा दिगो आर्थिक विकासका लागि सडक बनाउनुपर्ने र त्यसका लागि सडकमा बाह्रै महिना गाडी गुड्नुपर्ने हुन्छ, कुरामा ध्यान दिएनौं । फलस्वरूप हाम्रा दर्जनौं ग्रामीण सडकले न भनेजस्तो पहुँचमा सहजता नै पु¥यायो, नत स्थानीयको जीवनस्तर उकास्न नै सहयोगी भयो । बरु पहिरो र बाढी निम्त्याउने विनाशको कारक हुनपुग्यो ।
इन्जिनियरिङ सर्वे तथा डिजाइन नै नगरी डोजर अपरेटरको भरमा बनाइने सडकले कसरी विनाश निम्त्याएको छ भन्ने तथ्य अहिले हामी भोगीरहेका छौं । बर्षाको मौशम सुरुभएपछि हाम्रा वीपी, मध्यपहाडी र मदनभण्डारी राजमार्गहरु अवरुद्ध हुने अवस्था छ । त्यो पिडा पछिल्ला बर्षहरुमा निरन्तर भोगीरहेका छौं । बिना योजना खनिएका सडकका कारण बर्षेनी सयौं बिगाहा खेतीयोग्य जमिन पुरिरहेको पिडा किसानले भोग्न बाध्य छन । त्यतिमात्र हैन पहिरोका कारण धनजनको क्षति समेत हुने गरेको पाइन्छ । विकासको नाममा करोडौं रुपैयाँको नाश भएको छ नै, हजारौं हेक्टर जमिन बग्ने र त्यसको कारण अरू हजारौं हेक्टर कृषियोग्य जमिन पुरिने भयावह अवस्था छ ।
दिगो विकासको सोच बिना निर्माण गरिएका सडक संरचनाहरुका कारण जिल्लाबासीले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै जिल्लाका जिम्मेवार राजनैतिक दल, स्थानीय सरकार र स्थानीय प्रशासनले जिल्लाको विकास संरचनालाई दिगो बनाउन पहल गर्नुपर्ने आवश्यक्ता देखिन्छ । बेलैमा सवै पक्षले ध्यान पु¥याउन नसके बर्षेनी भौतिक तथा मानवीय क्षति ब्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सकिदैन ।