शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमआइटिको पुनः उदघाटनको अवसरमा निःशुल्क कम्प्युटर तालिम

बुधवार , आषाढ ४, २०८२

सिन्धुली – सिन्धुलीस्थित एमआइटिको पुनः उदघाटनको अवसरमा आयोजना गरिएको तीन महिनाको डिप्लोमा इन अफिस प्याकेज कम्प्युटर तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । आधुनिक प्रविधिमा आधारित शिक्षालाई ग्रामीण क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो निःशुल्क तालिमले थुप्रै विद्यार्थीहरूलाई जीवनोपयोगी सीप प्रदान गरेको छ ।

पुनः सञ्चालनमा आएको एमआइटिको पुनः उदघाटनले सूचना प्रविधिमा युवाहरूको पहुँच विस्तार गर्दै, डिजिटल साक्षरतामा योगदान पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरेको थियो । तालिममा माक्रोसफ्ट वर्ड,एक्सएल,पावरपोइन्ट, इन्टरनेट प्रयोग, इमेल लेखन, टाइपिङ दक्षता, तथा सामान्य कार्यालय कार्यसम्बन्धी अभ्यास समावेश गरिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । केही सहभागीहरूका अनुसार, तालिमले उनीहरूलाई निजी तथा सरकारी कार्यालयहरूमा काम गर्ने योग्य बनाएको छ भने केहीले आत्मरोजगारको बाटो रोज्ने आत्मविश्वाससमेत हासिल गरेका छन् ।

समापन समारोहमा संस्थाका प्रतिनिधि, प्रशिक्षकहरू, तथा अतिथि वक्ताहरूले तालिममा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै एमआइटिको पुनः उदघाटनका अध्यक्ष मिलन श्रेष्ठले भन्नुभयो,“ हामी केवल प्रविधि सिकाउने संस्था मात्र होइन, अवसर निर्माण गर्ने अभियान हो। भविष्यमा पनि यस्तै निःशुल्क वा सहुलियत दरमा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै जान्छौं । हाम्रो लक्ष्य युवाहरूलाई सीपमूलक तथा व्यवहारिक शिक्षामार्फत आत्मनिर्भर बनाउनु हो ।”

सोही अवसरमा अभिभावक तथा स्थानीय समुदायका अगुवाहरूले तालिमप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यस्ता कार्यक्रमहरूले गाउँघरका युवालाई वैदेशिक रोजगारीमा मात्रै नभई स्वदेशमै काम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।तालिमको व्यवस्थापन तथा सञ्चालनमा प्रशिक्षकहरूको योगदान र विद्यार्थीहरूको लगनशीलता उल्लेखनीय रहेको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया