शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्गमा फेरि सुरु हुँदै छ मनसुनको कहर

सोमवार , आषाढ २, २०८२

सिन्धुली – गत वर्ष असोज १२ गते आएको अविरल वर्षाले थङथिलो बनेको बीपी राजमार्ग अहिले पनि लथालिंगकै अवस्थामा छ । यसलाई पहिलाकै स्वरूप पुर्‍याउन निकै गाह्रो छ । नेपालको पूर्वी भेगलाई राजधानीसँग जोड्ने यो छोटो मार्ग फेरि सुरु हुँदै गरेको मनसुनको कहरमा छ ।

तर यो मार्गलाई सहज बनाउन, गत वर्षको क्षति पुनर्निर्माणदेखि तत्काल आइपर्ने अवरोध हटाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सुचारु राख्न सडक विभागले तीव्रसाथ काम गरिरहेको जनाएको छ ।

गत असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेंसी–नेपालथोक खण्डको २९.५ किलोमिटर सडकमा सर्वाधिक क्षति पुर्‍याएको थियो । सोही क्षतिको अनुभवबाट पाठ सिक्दै विभागले यो वर्ष सम्भावित जोखिमको पूर्वमूल्यांकन गरी रोकथामका कामहरूलाई तीव्रता दिएको जनाएको छ ।

सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेका अनुसार कुनै ठुलो अप्रत्याशित प्राकृतिक विपत्ति नआए यो बर्खामा बीपी राजमार्गमा यातायात अवरुद्ध हुने छैन । “धेरैजसो जोखिम खोला किनारका क्षेत्रमा छ, जहाँ हामीले पहिल्यै सडकको संरचना उठाइसकेका छौँ,” उहाँले भन्नुभयो, “ती ठाउँमा खोलाले पुनः भत्काउन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा ग्याबियन जाली लगाउने र कुनै–कुनै ठाउँमा ठुला ढुंगा राखेर पिचिङ गर्नेजस्ता नियमित पुनर्निर्माणका कामहरू निरन्तर भइरहेका छन् ।”

मनसुनका वेला बाढीपहिरोले सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले पर्याप्त उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको । इन्जिनियर न्यौपानेका अनुसार बीपी राजमार्गका लागि मात्रै विभागको आफ्नै ६ वटा एक्स्काभेटर, ४ वटा लोडर, २ वटा ब्याकहोलोडर र ४ वटा टिपर गरी कुल १६ वटा उपकरणहरू तयारी अवस्थामा छन् ।

“यी उपकरणहरू राजमार्गका विभिन्न संवेदनशील खण्डमा तैनाथ गरिनेछन् ताकि अवरोध हुने बित्तिकै तत्काल परिचालन गर्न सकियोस्,” न्यौपानेले भन्नुभयो, “यसबाहेक, ठेक्का लागेका खण्डमा सम्बन्धित निर्माण व्यवसायीले पनि आफ्ना उपकरणहरू तयारी अवस्थामा राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।”

यसले गर्दा कुनै पनि स्थानमा अवरोध भएमा छिटोभन्दा छिटो पन्छाएर यातायात सुचारु गर्न सकिने विभागको विश्वास छ ।

गत वर्षको बाढीले क्षतिग्रस्त २९.५ किलोमिटर सडकलाई दुई लेनमा विस्तारसहित पुनर्निर्माण गर्न चार वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये दुई वटा प्याकेजको ठेक्का लागिसकेको छ भने एउटा प्याकेज ठेक्का प्रक्रियामा र एउटा विभाग आफैँले निर्माण गर्ने तयारीमा छ । पुनर्निर्माणका लागि सरकारले करिब साढे ८ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

सामान्य वर्षामै हुने जाम हटाउन योजना बनाउने

बीपी राजमार्गमा सामान्य वर्षा हुने बित्तिकै घण्टौँ जाम हुने समस्या नौलो होइन । तर यसको मुख्य कारण बाढी वा हिलो मात्र नभएर चालकले ट्राफिक अनुशासन पालना नगर्नु पनि रहेको इन्जिनियर शुभराज न्यौपानेले बताउनुभयो ।

“जामको मुख्य कारण तराईतिरबाट आउने बढी भार बोकेका (ओभरलोडेड) गाडीहरू उकालोमा तान्न नसकेर फस्नु हो । हाम्रो सडक साँघुरो छ, एउटा गाडी फसेपछि एकतर्फी (वान वे) मात्र सञ्चालन हुन्छ,” उहाँल भन्नुभयो, “त्यसमाथि सडक प्रयोगकर्ता र चालकहरूले धैर्य नराख्दा र अनुशासन पालना नगर्दा जाम झनै जटिल बन्ने गरेको छ ।”

यो समस्या समाधानका लागि विभागले सरोकारवाला निकायहरूसँग समन्वय बढाएको छ । यसै साता काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र सडक विभागका प्रतिनिधिहरूबिच समन्वय बैठक बसेर सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक योजना बनाउने र जाम व्यवस्थापन गर्न ठोस रणनीति तयार गरिने भएको छ ।

साथै विभागले अत्यावश्यक कामबाहेक बर्खायाममा यो राजमार्गमा यात्रा नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

के हुन सक्छ बीपी राजमार्गको विकल्प ?

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको खण्डमा भरपर्दो विकल्पको अभाव छ । मध्यपहाडी राजमार्गलाई एउटा प्रमुख विकल्पको रूपमा हेरिए पनि निर्माणमा भइरहेको ढिलाइका कारण तत्काल यो सम्भव छैन ।

“मध्यपहाडी राजमार्गमा सुनकोशी र खानी खोलालगायत तीन ठाउँमा ठुला पुल बनिसकेका छैनन् । पुल नभएकाले बर्खामा त्यहाँबाट गाडी चल्न सक्दैन । त्यसैले यो बर्खामा मध्यपहाडी राजमार्ग बीपीको पूर्ण विकल्प हुन सक्दैन,” न्यौपानेले स्पष्ट पार्नुभयो । यदि ती पुलहरू बनेको भए सित्खाबाट छिरेर सीधै जलघाट निस्कन सकिन्थ्यो, जुन भरपर्दो विकल्प हुने थियो ।

यद्यपि विभागले एउटा सहायक वैकल्पिक मार्गको पहिचान गरेको छ । बीपी राजमार्गको सिन्धुरेटारको पुल तरेर तिमाल हुँदै भकुण्डेबेसी निस्कने यो करिडोरबाट साना गाडीबाहेक अन्यलाई पठाउन सकिनेछ ।

“त्यसमा सानो कार र जमिनसँगको उचाइ (ग्राउन्ड क्लियरेन्स) कम भएका गाडीहरूलाई अलि गाह्रो हुन्छ,” उहाँले भन्नुभयो, “तर अलि अग्ला एभरेज साइजका बस, फोर ह्विलका सुमो, बाइक र एम्बुलेन्सहरूलाई त्यो रुटबाट पठाउन सकिन्छ ।”

विभागले सम्भावित सबै वैकल्पिक मार्गहरूको आफैँ स्थलगत अध्ययन गरी त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर ‘वर्कआउट’ गरिरहेको जनाएको छ । पुनर्निर्माण, तत्काल मर्मत, उपकरणको तयारी र अन्तर–निकाय समन्वयमार्फत यस बर्खामा बीपी राजमार्गलाई हरसम्भव सुचारु राख्न तयारी अवस्थामा आफू रहेको विभागको भनाइ छ ।

 

प्रतिक्रिया