सिन्धुली,२८ जेठ – सिन्धुली जिल्लाको मरिण गाउँपालिका ४ मा रहेको माध्यमिक विद्यालय मरिण खयरसालका विद्यार्थीहरूमा केही दिनदेखि अनौठो समस्या देखा परेको छ । विद्यार्थीहरू काम्दै बेहोस् हुन थालेपछि शिक्षक, विद्यार्थी र अभिभावक त्रस्त छन् ।
उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा सोमवारदेखि एक्कासि बर्बराउने, रूने, चिच्याउने, उफ्रिनेरुने, कराउने, काम्ने, बेहोस हुने जस्ता समस्या देखिएको शिक्षकहरूले बताएका छन् । गएको सोमवार एकैपटक २१ जना छात्रा विद्यार्थीहरूमा यस्तो समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक लवाङदोर्जे थिङले जानकारी दिनुभयो । गए सोमवार यतादेखि दैनिक ४/५ जना छात्रामा अनौठो समस्या देखिएको सहायक प्रअ थिङले बताउनुभयो ।
विद्यार्थीहरूमा यस्तो अनौठो समस्या देखिए पछि मरिण गाउँपालिका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, विद्यार्थी र शिक्षकहरू सहित समस्या समाधानको बारेमा छलफल भएको सहायक प्रअ थिङले बताउनुभयो ।
स्वास्थ्यकर्मीले यो अतिहाल्नु पर्ने समस्या नभएकोले नआतिन सुझाव दिएका सहायक प्रअ थिङको भनाइ छ । तर दैनिक रूपमा छात्राहरूमा समस्या देखिए पछि अब के गर्ने भन्ने बारेमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।