शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ असार १८ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , आषाढ १९, २०८१

बि.सं.२०८१ असार १८ गते मंगलबार ई.सं.२०२४ जुलाई ०२ नेपाल सम्बत ११४४ तछलागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: १२ बजे, सूर्यास्त साँझ ०७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि १२ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व खेलकुद पत्रकार दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। तर दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। केही अवसर प्राप्त भए पनि भूलवश काम बिग्रने र समस्या पर्ने देखिन्छ। पढाइलेखाइमा पनि केही पछि परिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुनेछ। दिउँसाेदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसाेदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। तर व्यवसायमा लगानी बढाउनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ। पेसातर्फ प्रशस्त फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसाेदेखि स्थितिमा सामान्य सुधार आए पनि अरूकै काममा समय बित्नेछ। सामान्य कामका लागि कडा परिश्रम गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसाेदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथ र आकर्षक उपहारले मन उत्साहित हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कामको मेसो नमिल्दा केही अलमल हुनेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि चिताएकाे काम गर्न बाधा पर्नेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसाेदेखि स्थितिमा सुधार आउला। आवश्यक भौतिक साधन जुट्नेछन्। साहसी कामले लाभ दिलाउनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। दिउँसाेदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा अलि ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ। अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– छोटो समयमा राम्राे उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया