बि.सं.२०८१ असार १५ गते शनिबार ई.सं.२०२४ जून २९ नेपाल सम्बत ११४४ तछलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ११ बजे, सूर्यास्त साँझ ०७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– विभिन्न अवसर प्राप्त हुनेछन्। तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही समस्या आउनेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ। बलजफ्तीले पनि चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ |
आज रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।