शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ असार ११ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , आषाढ १२, २०८१

बि.सं.२०८१ असार ११ गते मंगलबार ई.सं.२०२४ जून २५ नेपाल सम्बत ११४४ तछलागा चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वैधृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०९ बजे, सूर्यास्त साँझ ०७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि १२ बजेर ०६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मानसम्मान पनि बढ्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आस मारेको फल पुन: प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– दिन रमाइलाे र उत्साहपूर्ण रहनेछ। साथीभाइसँग रमाइलाे भेट हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ उठाउन सकिनेछ। व्यवसायको सन्दर्भमा यात्राकाे साइत पनि जुर्न सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले राम्रै उपलब्धि पाइनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला। महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। तर व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। व्यवसायतर्फ लाभ उठाउन हतार नगर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ। टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया