राशिफल बि.सं.२०८१ असार ०८ गते शनिबार ई.सं.२०२४ जून २२ नेपाल सम्बत ११४४ तछलाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०९ बजे, सूर्यास्त साँझ ०७: ०२ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखिे ०८ बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्। तापनि नियमित काम सम्पादन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अध्ययनमा त्यति समय दिन नसकिएला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। खर्च लागे पनि साेखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि आर्थिक जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत व्यावसायिक काममा भने केही मन्दी आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
आज रातीː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।