बि.सं.२०८१ असार ०७ गते शुक्रबार ई.सं.२०२४ जून २१ नेपाल सम्बत ११४४ तछलाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल चर्तुदशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०८ बजे, सूर्यास्त साँझ ०७: ०२ बजे हुनेछ ।
आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखिे ०८ बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व योग दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सानोतिनो समस्याले अल्झाए पनि लाभांश हातपार्न सकिनेछ। तर केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो स्थितिमा समेत केही काम बन्नेछन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। साँझतिर स्वास्थ्य कमजाेर बन्नेछ भने काम बिग्रने भयले पनि सताउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आत्मबलका साथ राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले सामाजिक उपलब्धि प्राप्त गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम थालनी हुनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले विशेष लाभ उठाउन सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुनेछ। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा साँझतिर काम बनाउन सफल भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ। साथीभाइकाे सहयाेग जुट्नेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ। साँझदेखि घरायसी समस्या सुल्झाउन जुट्नुपर्ला। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन कम उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक उपलब्धि कम भए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर स्थिति अनुकूल बन्नाले राेकिएका काम सम्पादन हुनेछन्।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। मिहिनेत गर्दा आंशिक उपलब्धि प्राप्त गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आकस्मिक कामले खर्च बढाउन सक्छ। शरीरमा थकान महसुस हुनेछ। आफन्त र परिवारजनबाट टाढा भइने समय छ। बाध्यतावश विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। समस्यामा साथ दिने थाेरै भेटिनेछन्। समस्या टार्न रकम सापट लिनुपर्ने आवश्यकता पर्न सक्छ। किनमेलमा बढी खर्च हुनेछ। फाइदाकाे अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामकाे जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। साँझतिर खर्च बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पहिले रोकिएको काम बन्नाले उत्साहित भइनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। साँझतिर उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ |गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज रातीː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पु्र्ण बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।