शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ जेठ ०२ गते बुधबारको राशिफल र मौसम

बुधवार , जेठ २, २०८१

बि.सं.२०८१ जेठ ०२ गते बुधबार ई.सं.२०२४ मे १५ नेपाल सम्बत ११४४ बछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा अश्लेशा नक्षत्र, वृद्धि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: १४ बजे, सूर्यास्त साँझ ०६: ४५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १४ मिनेट देखि ०६ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तर्राष्ट्रिय परिवार दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ र अध्ययनमा पनि प्रगति हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तजनको विश्वास पनि गुम्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर लगनशीलताले मात्र संकल्प पूरा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– काम बन्नाले राम्रै लाभांश प्राप्त हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। साँझतिर आम्दानी बढ्नेछ र विशेष लाभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सेवा तथा सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। साँझतिर थप जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर खर्च बढ्नेछ, स्वास्थ्य कमजाेर रहनेछ र काम बिग्रने भयले सताउन सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया