शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० फागुन २८ गते सोमबारको राशिफल र मौसम

सोमवार , फाल्गुण २८, २०८०

बि.सं.२०८० फागुन २८ गते सोमबार ई.सं.२०२४ मार्च ११ नेपाल सम्बत ११४४ चिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: १७ बजे, सूर्यास्त साँझ ०६: १० बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १७ मिनेट देखि ०७ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज ग्याल्पो ल्होसार रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। परिस्थितिवश अध्ययनमा पछि परिनेछ। पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- अरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ। रोकिएको काम बन्न थाल्नेछन्। प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले काम बन्नेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषितर्फ सामान्य लाभ हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। नियमित काम सम्पादन हुनेछन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। परिवारमा आमाको सहयोग लिँदा काम बन्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनाले दैनिकीमा समेत परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम ?

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

प्रतिक्रिया