बि.सं.२०८० फागुन २७ गते आइतबार ई.सं.२०२४ मार्च १० नेपाल सम्बत ११४४ सिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण औंसी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६: १८ बजे, सूर्यास्त साँझ ०६: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर १६ मिनेट देखि १० बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कामकाे चाप बढ्नेछ तर शरीर कमजोर रहनेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। कामको चाप बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। घरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आर्थिक क्रियाकलापमा कमै फाइदा हुनेछ। आलस्य गर्ने बानीले काम राेकिन सक्छ। साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्क रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम ?
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।
आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।