बि.सं. २०८० फागुन १७ गते बिहीबार ई.सं.२०२४ फेब्रुअरी २९ नेपाल सम्बत ११४४ सिल्लागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण पञ्चमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: २८ बजे, सूर्यास्त साँझ ०६: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २८ मिनेट देखि ०७ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम ?
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।