शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० पुष १५ गते आइतबारको राशिफल र मौसम

आइतवार , पौष १५, २०८०

बि.सं.२०८० पुष १५ गते आइतबार ई.सं.२०२३ डिसेम्बर ३१ नेपाल सम्बत ११४४ थिंलागा चतुर्थी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा,मघा नक्षत्र,प्रीति योग,वालब करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे, सूर्यास्त साँझ ०५: १९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ३० मिनेट देखि १० बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएकाे वचनले समस्या पर्नेछ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला। सावधानीले उपलब्धि जाेगिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशील बन्दाबन्दै पनि पछि परिनेछ। पुरानो हिसाबकिताबसुल्झाउन समय लाग्नेछ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– शत्रु र राेगका कारण काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै हाेसियार रहनुपर्ने समय छ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया