शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असोज २१ गते आइतबारको राशिफल र मौसम

आइतवार , आश्विन २१, २०८०

बि.सं. २०८० असोज २१ गते आइतबार ई.सं.२०२३ अक्टुबर ०८ नेपाल सम्बत ११४३ ञंलागा नवमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ५: ५९ बजे, सूर्यास्त साँझ ५: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्। तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। केही बाध्यतामा अलमलिनुपर्ने देखिन्छ। धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। अरूको विश्वासमा पर्दा धोका पाइएला। पतिपत्नीमै अविश्वास बढ्न सक्छ। यात्रा रमाइलो हुनेछ तर धनमाल सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आयआर्जन सामान्य भए पनि भौतिक साधन जुटाउन सकिनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ। कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने अरूका लागि पनि सहयोग गर्न सकिनेछ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया