शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८०असोज १८ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , आश्विन १८, २०८०

बि.सं. २०८० असोज १८ गते बिहिबार ई.सं.२०२३ अक्टुबर ०५ नेपाल सम्बत ११४३ ञंलागा षष्ठी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज कृष्ण षष्ठी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ५८ बजे, सूर्यास्त साँझ ५: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५८ मिनेट देखि ०७ बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– बिहान सामान्य काममा अलमल हुने सम्भावना छ। आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। वादविवादमा अघि नसर्नुहाेला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बिहानकाे समय भेटघाटमा अलमल हुन सक्छ। आफन्तका लागि केही समय दिनुपर्ने हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। दिउँसाेदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। नियमित काम सम्पादन हुनेछन्। तर परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूकाे विचारमा सहमत बन्न नसक्दा काम राेकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। र, रकम उठाउन हतार गर्दा लाभांशमा घाटा लाग्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसाेदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– विशेष काम गर्न बिहानकाे समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसाेदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ।व्यापार बढ्नेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्राे लाभ उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बिहानकाे समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहाेला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– बिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ। विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए।

“तर पनि मंगलबार र बुधबारको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब आजदेखि भारी वर्षा भने हुन्न”, उनले भने।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया