शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०८० असोज १६ गते मंगलवारको राशिफल र मौसम

मंगलवार , आश्विन १६, २०८०

बि.सं. २०८० असोज १६ गते मंगलवार ई.सं.२०२३ अक्टुबर ०३ नेपाल सम्बत ११४३ ञंलागा चतुर्थी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज कृष्ण चतुर्थी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५७ बजे, सूर्यास्त साँझ ५: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि ११ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले काम राेकिन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। यात्रा र किनमेलकाे सोखले खर्चको मात्रा भने बढाउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ। समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। केही आम्दानी भए पनि खर्चनुपर्ने अवस्था आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। गरेका काम सम्पादन हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया